काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित हुने महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ।
महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजे खुलामञ्चमा हुनेछ। बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार अर्थात् १९ र २० असोजमा हुनेछन्। निर्वाचन कार्यक्रम भने २१ र २२ असोजका लागि तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता शुक्रबार र शनिबार गरिएको छ। नाम दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।
प्रतिनिधिहरूलाई पार्टी विधान, डायरी, डटपेन, खाना तथा खाजा–नास्ताका कुपनसहितको झोला उपलब्ध गराइएको छ। चालिसेका अनुसार यसपटकको महाधिवेशन कांग्रेसको इतिहासमै सबैभन्दा धेरै प्रतिनिधि सहभागी हुने महाधिवेशन हुनेछ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले महाधिवेशनलाई नेतृत्व चयनसँगै नीति निर्माणमा केन्द्रित गर्ने तयारी रहेको बताए। उनका अनुसार बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदन प्रस्तुत हुनेछन्।
सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
कांग्रेसले केही क्षेत्रमा अधिवेशन हुन बाँकी रहे पनि संख्या १० भन्दा कम रहेको जनाएको छ। बाँकी क्षेत्रमा पनि शनिबारसम्म अधिवेशन सम्पन्न गर्ने तयारी रहेको चालिसेले बताए।
महाधिवेशनको उद्घाटन समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत दललाई आमन्त्रण गरिएको छ। भारत, चीन, अमेरिका लगायतका आधा दर्जनभन्दा बढी मुलुकबाट विदेशी पाहुनालाई पनि निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ। उद्घाटन समारोहको मिति परिवर्तन भएका कारण विदेशी पाहुनाको सहभागिता भने न्यून हुन सक्ने कांग्रेसको भनाइ छ।
प्रतिनिधिका लागि विभिन्न क्षेत्रमा होटल बुकिङ
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रका होटलमा आवासको व्यवस्था गरिएको छ।
आवास व्यवस्थापन समितिका सदस्य एवं नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लीलाप्रसाद ढकालका अनुसार करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी होटल बुकिङ गरिएको छ।
कोशी र मधेश प्रदेशका प्रतिनिधिका लागि गौशाला र कोटेश्वर, बागमतीका लागि लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क तथा कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिका लागि सुन्धारा र कलंकी क्षेत्रमा आवासको व्यवस्था गरिएको छ। विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा व्यवस्था गरिएको छ।
जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आएका प्रतिनिधिले होटल र आवासको खर्च आफैं बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ। विदेशबाट आएका पाहुनाको आवास खर्च भने पार्टीले बेहोर्नेछ।
प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना भृकुटीमण्डपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गरिने भएको छ। खुलामञ्चको पश्चिमतर्फ स्थापना गरिएको हेल्थ डेस्कमा पाँच वटा स्टल रहनेछन्।
स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार डेस्क दुई सिफ्टमा सञ्चालन हुनेछ। सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक सेवा उपलब्ध गराउने डेस्कमा चिकित्सक, पारामेडिक्स र नर्ससहितको टोली रहनेछ।
महाधिवेशन स्थलमै रक्तचाप र सुगर परीक्षण, सिटामोल, जीवनजल तथा सामान्य घाउचोटका औषधि निःशुल्क उपलब्ध गराइनेछ।
आकस्मिक अवस्थामा प्रतिनिधिलाई वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा बसुन्धरास्थित बीपी स्मृति अस्पताल लैजाने व्यवस्था मिलाइएको छ। त्यसका लागि महाधिवेशन स्थलमा दुई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।
रातिको समयमा आवश्यक परे स्वास्थ्यकर्मीलाई ‘अन कल’ ड्युटीमा राखिने तथा होटलमा बसेका प्रतिनिधिलाई स्वास्थ्य समस्या देखिए होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।








प्रतिक्रिया