काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउनेछन्।
प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः१५ बजे कतार एयरवेजको उडानमार्फत न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्नेछन्। महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत रहनेछन्।
प्रधानमन्त्रीसँग प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य पनि न्यूयोर्क जानेछन्।
परराष्ट्रमन्त्री खनाल भने परराष्ट्र सचिव राईसहितको टोलीको नेतृत्व गर्दै आइतबार नै अमेरिका पुगिसकेका छन्। उनी न्यूयोर्कमा विभिन्न कूटनीतिक भेटवार्तामा व्यस्त छन्।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्किनेछन्।
प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो।








प्रतिक्रिया