Logo

समाचार

राष्ट्रपति पौडेल : संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले सुनिश्चित गरेका अधिकार र उपलब्धिलाई नागरिकको दैनिक जीवनमा अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै पौडेलले संविधान कागजमा लेखिएका शब्दको संग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताए ।

उनले राज्य नागरिकको आर्तनादसँगै उभिने, सरकार नागरिकको सेवक बन्ने र न्याय राज्यको मूल ध्येय बन्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । जनउत्तरदायी, पारदर्शी र परिणाममुखी सरकारबाट मात्रै संविधानले गरेका वाचा जनताको जीवनमा स्थापित गर्न सकिने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कारले लोकतन्त्रलाई बलियो बनाउने बताए । उनले संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्ने संकल्प गर्नुपर्ने उल्लेख गरे ।

राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको उनले बताए । नागरिकलाई निराशामा राखेर राज्य वा व्यवस्था सफल हुन नसक्ने भन्दै पौडेलले शासकीय संरचनामा परिवर्तनसँगै राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन आवश्यक रहेको बताए ।

सम्बोधनका क्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको उल्लेख गर्दै संविधान निर्माणका लागि भएका आन्दोलन र बलिदानलाई स्मरण गरे । उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा जेल, निर्वासन र यातना भोग्ने लोकतन्त्रका योद्धाहरूप्रति सम्मान प्रकट गरे ।

यस वर्ष संविधान दिवस मनाइरहँदा मुलुक बाढी तथा प्राकृतिक विपत्तिको पीडामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको खोज र पहिचानको कामना पनि गरे ।

विपत्तिले विकासको अवधारणालाई पुनर्विचार गर्नुपर्ने सन्देश दिएको उल्लेख गर्दै उनले विकास सडक, पुल र भवन निर्माणमा मात्र सीमित नभई मानिसको जीवन, जीविका र भविष्यको सुरक्षासँग जोडिनुपर्ने बताए । पुनर्निर्माणका क्रममा भौतिक संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्ने उनको भनाइ थियो ।

जलवायु परिवर्तनका चुनौतीबीच विकासका ढाँचालाई मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

राष्ट्रपति पौडेलले संविधानले नेपाललाई सङ्घीयता, समावेशिता, बहुलवाद र नयाँ शासकीय संरचनाको अवसर दिएको बताए । एकात्मक र केन्द्रीकृत शासन प्रणालीको विकल्पका रूपमा प्राप्त सङ्घीयतालाई देश विकासको महत्वपूर्ण तहका रूपमा विकास गर्नुपर्ने उनले बताए ।

उनले संविधानका उपलब्धिलाई संस्थागत गर्दै सबै तहका सरकारलाई समान हक, अधिकार, सामाजिक न्याय र समृद्धि सुनिश्चित गर्न ध्यान दिन आग्रह गरे ।

‘संविधान दिवस’ संविधान प्राप्तिको उत्सवसँगै आत्मसमीक्षाको दिन पनि भएको उल्लेख गर्दै पौडेलले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व रहेको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : ०१ बजे