काठमाडौं । आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । खासगरी युवायुवतीहरूले एक अर्काबीच प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ यो दिनलाई ।
हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने ‘भ्यालेन्टाइन डे’ केवल एक दिन मात्र होइन, यो प्रेम, समर्पण र आत्मीयताको उत्सव हो । यो दिनले हामीलाई सम्झाउँछ माया भन्नु केवल शब्द होइन, अनुभूति हो; केवल साथ हुनु होइन, साथ निभाउनु हो । प्रेम कुनै सीमामा बाँधिँदैन । यो न उमेरले छेक्छ, न दूरीले रोक्छ । प्रेम त्यो मिठो अनुभूति हो, जहाँ दुई हृदयहरू एक अर्काको धड्कन सुन्न सक्छन् ।
भ्यालेन्टाइन डेको अवसरमा महँगो उपहार आवश्यक छैन । एउटा हातले लेखिएको चिठी, मनपर्ने फूल, वा सँगै बिताएको केही क्षण यी नै साँचो उपहार हुन् । प्रेम देखाउनका लागि शब्दभन्दा बढी भावना चाहिन्छ । साँचो प्रेम केवल रमाइलो क्षणहरूमा मात्र होइन, अप्ठ्यारो परिस्थितिमा पनि अडिग रहन्छ । प्रेम भनेको एक अर्काको कमजोरीलाई स्वीकार्दै, भविष्यका सपनाहरू सँगै बुन्ने साहस हो ।
भ्यालेन्टाइन डे केवल प्रेमी प्रेमिकाको दिन मात्र होइन, यो आत्मीयता, सम्मान, विश्वास र भावनात्मक सम्बन्धको उत्सव पनि हो । बदलिँदो समयसँगै यसको स्वरूप फराकिलो बन्दै गएको छ आज यो दिन प्रेमी जोडीसँगै परिवार, साथीभाइ र आफन्तप्रति स्नेह व्यक्त गर्ने अवसरका रूपमा समेत मनाउन थालिएको छ ।
प्रेम कुनै देखिने वस्तु होइन, तर यसको प्रभाव जीवनभर महसुस गर्न सकिन्छ । प्रेम त्यस्तो भावना हो जसले मानिसलाई सकारात्मक बनाउँछ, आत्मविश्वास बढाउँछ र जीवनलाई अर्थपूर्ण बनाउँछ । साँचो प्रेममा अधिकारभन्दा बढी विश्वास हुन्छ, र अपेक्षाभन्दा बढी समझदारी ।
भ्यालेन्टाइन डेमा धेरैले फूल, चकलेट, उपहार वा विशेष डेटमार्फत प्रेम व्यक्त गर्छन् । तर प्रेमको मूल्य उपहारको महँगोपनले होइन, भावनाको गहिराइले मापन हुन्छ । कहिलेकाहीँ एउटा इमानदार सन्देश, एउटा स्नेहिल अँगालो, वा सँगै बिताएको केही शान्त क्षण नै सबैभन्दा ठूलो उपहार बन्न सक्छ ।
सम्मान, संवाद र सहकार्यबिना कुनै पनि सम्बन्ध दीगो हुन सक्दैन । त्यसैले प्रेम व्यक्त गर्ने दिनको रूपमा मात्र होइन, सम्बन्धलाई सुदृढ बनाउने अवसरका रूपमा पनि यस दिनलाई लिन आवश्यक छ । आजको विश्वमा धेरै प्रेमिल जोडीहरू अध्ययन, रोजगारी वा अन्य कारणले एक देशबाट अर्को देशमा बसिरहेका हुन्छन् । दूरीले भेटघाट कठिन बनाइदिए पनि प्रविधिले सम्बन्धलाई जोडिराख्ने माध्यम दिएको छ । यद्यपि, भौगोलिक दूरीका कारण यो दिन कतिपयका लागि भावनात्मक रूपमा चुनौतीपूर्ण पनि बन्न सक्छ । यस्तो अवस्थामा उपहारभन्दा बढी विश्वास, नियमित संवाद र आपसी समझदारीले सम्बन्धलाई मजबुत बनाउँछ ।
नेपालजस्तो विविध संस्कृतिले भरिएको समाजमा भ्यालेन्टाइन डे मनाउने तरिका फरक फरक छ । कतिपयले यसलाई आधुनिक प्रभावका रूपमा हेर्छन् भने कतिपयका लागि यो सम्बन्धलाई पुनः स्मरण गर्ने अवसर हो । अझै पनि नेपाली समाजमा यो दिनलाई अनिवार्य रूपमा मनाउनैपर्छ भन्ने व्यापक सोच छैन, तर विस्तारै युवापुस्तामाझ यसको स्वीकार्यता बढ्दै गएको देखिन्छ ।
भ्यालेन्टाइन डे केवल प्रेमी प्रेमिकाको दिन मात्र होइन; यो परिवार, साथीभाइ र आफन्तप्रति स्नेह, सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसर पनि हुन सक्छ । प्रेम आफैंमा सार्वभौमिक मूल्य हो, जसले भाषा, संस्कार र सीमाना पार गरेर मानिसलाई एकआपसमा जोड्छ ।
सप्ताहकै रूपमा भ्यालेन्टाइन डे
‘भ्यालेन्टाइन डे’ लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ । जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ । यस दिनमा युवायुवतीहरू एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ जाने गर्छन् । प्रेम दिवस विशेष गरी ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी लोकप्रिय छ ।
इतिहासको कुरा
संसारभर लोकप्रिय भ्यालेन्टाइन डे को इतिहास रोचक छ । यसको इतिहास एक महान् प्रेमीको वलिदानसँग जोडिएको छ । तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को खास अर्थ फर्केर हेर्दा पादरी सेन्ट भन्यालेन्टाइनको वलिदानी जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानव धर्मविरुद्ध भएको ठान्दथे । त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरित लुकिछिपी विभिन्न जोडीहरूको बिहे गराइदिन थाले ।
पादरीले बिहे गराइ दिएको खबर एक कान दुई कान मैदान हँुदै सम्राटसम्म आइपुग्यो । र, सम्राटको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी जेलमा थुनियो । अनि मृत्युदण्ड दिने निर्णय गरियो । भ्यालेनटाइनलाई झुण्ड्याउनु अगाडि उनले ‘लभ फ्रम भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइएको थियो । उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो । भ्यालेन्टाइनले ती महिलालाई प्रेमको बारेमा दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ । भ्यालेन्टाइन डे का दिन आफ्नो सन्देश खवर लेखेर प्रेमी प्रेमिकालाई दिने चलन पछि चल्यो ।
विशेषगरी फेब्रुअरी महिनालाई प्रेम र शान्तिको महिना पनि भनेर चिनिन्छ । यस अवसरमा जसरी युवायुवती तथा प्रेमप्रेमिकाहरु प्रेम र विश्वासको प्रतीकको रूपमा मनाइरहेका छन् यो दिवस, यसैगरी सदैव एक अर्काबीच विश्वासको आभास भइराखोस् । यही छ मेरो सबै जोडीहरुमा शुभकामना । शुभ प्रेम दिवस । आकांक्षा धामी / नेपाल न्यूज बैंक










प्रतिक्रिया