दार्चुला (खलङ्गा) । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।
गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौरब महतले जानकारी दिए । उनले पक्राउ परेका साउद ट्याक्टर चालक र नाथ निजका सहयोगी रहेको बताए ।
मृतक जोशीका छिमेकीसमेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अभियुक्तका साथबाट लुटपाट गरिएका करिब दुई तोला बराबरका गरगहना बरामद गरिएका प्रहरी नायब उपरीक्षक महतले बताए ।










प्रतिक्रिया