काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा तिहार जेलमा आत्मसमर्पण गरेका बलिउड अभिनेता राजपाल यादवलाई सहयोग गर्न कलाकार गुरमीत चौधरी र सोनु सूद अगाडि आएका छन् ।
गत फेब्रुअरी ५ मा तिहार जेलमा आत्मसमर्पण गरेका राजपालको पक्षमा गुरमीतले सामाजिक सञ्जाल एक्समार्फत भावुक सन्देश लेख्दै सहयोगको प्रतिबद्धता जनाएका हुन् । उनले वरिष्ठ तथा अत्यन्त प्रतिभाशाली कलाकार राजपाल कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै आफू कलाकार र मानवताको नाताले सक्दो साथ दिने बताएका छन् ।
साथै उनले चलचित्र क्षेत्रका निर्माता, निर्देशक र सहकर्मीहरूलाई करुणा र मानवताको भावनासहित एकजुट भएर समाधान खोज्न आग्रह गरेका छन् । “हाम्रो उद्योग एउटा परिवार हो, र परिवारले आफ्नोलाई कहिल्यै छाड्दैन,” उनले उल्लेख गरेका छन् ।
जेल जानुअघि राजपालले इन्स्टाग्राममा भावुक भिडियो सार्वजनिक गर्दै गम्भीर आर्थिक संकटमा परेको बताएका थिए । उनको उक्त अभिव्यक्तिपछि प्रशंसक तथा फिल्म क्षेत्रबाट विभिन्न प्रतिक्रिया आएका थिए ।
यसैक्रममा अभिनेता सोनु सूदले पनि राजपाललाई आफ्नो आगामी फिल्ममा अवसर दिने र आर्थिक सहयोगस्वरूप साइनिङ रकम उपलब्ध गराउने घोषणा गरेका छन् । उनले यसलाई ‘च्यारिटी’ नभई कलाकारको सम्मान जोगाउने प्रयास भएको बताएका छन् । “सानो साइनिङ रकम दान होइन, सम्मान हो । कठिन समयमा उद्योगले आफ्ना सदस्यलाई एक्लो महसुस हुन दिनुहुँदैन,” सोनुले लेखेका छन् ।
यसअघि दिल्ली उच्च अदालतले चेक अनादरका श्रृंखलाबद्ध मुद्दामा जेल सजाय टार्ने राजपालको अन्तिम प्रयास अस्वीकार गर्दै आत्मसमर्पण गर्न आदेश दिएको थियो । अदालतले राजपालले पटक–पटक भुक्तानीसम्बन्धी प्रतिबद्धता उल्लंघन गरेको उल्लेख गर्दै फेब्रुअरी ४ भित्र आत्मसमर्पण गर्न निर्देशन दिएको थियो ।
राजपालका वकिलले तत्काल २५ लाख भारतीय रुपैयाँ जम्मा गर्ने र बाँकी रकम किस्ताबन्दीमा तिर्ने सहमति भएको दाबी गरे पनि अदालतले राहत दिन अस्वीकार गरेको थियो ।
न्यायाधीश शर्माले आत्मसमर्पण नगरेसम्म कुनै सुनुवाइ नहुने स्पष्ट पारेपछि राजपालले फेब्रुअरी ५ मा तिहार जेलमा आत्मसमर्पण गरेका हुन् । अदालतले आत्मसमर्पणपछि कानुनअनुसार उपयुक्त निवेदन दिन सक्ने स्पष्ट पारेको छ ।
एएनआई










प्रतिक्रिया