Logo

Breaking News 1

भक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री



राजिव खत्री
उम्मेदवार(प्रत्यक्ष),रास्वपा
भक्तपुर क्षेत्र नम्बर २

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजिव खत्रीले चुनावी अभियानलाई तिब्र बनाएका छन् । देशभर निर्वाचनको माहोल चलेसँगै आफू पनि सोही गतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले वडा–वडामा, समूह–समूहमा भेटघाट र प्रशिक्षणका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताए । उनले वडादेखि नै संगठन मजबुत बनाउने रणनीतिमा पार्टी लागेको उल्लेख गर्दै घर–घर पुग्ने तयारीसमेत अन्तिम चरणमा पुगेको बताए ।

‘इन्टरनल तयारी, वडा तहमा संगठन सुदृढीकरण र त्यसपछि घरदैलो कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने हाम्रो तयारी छ,’ उनले भने । खत्रीले प्रतिनिधिसभा सदस्यको भूमिकालाई नीतिगत तहसँग जोडेर हेर्ने दृष्टिकोण अघि सारे । उनका अनुसार सांसदको प्रमुख जिम्मेवारी बजेट छुट्याएर सडक, ढल बनाउनेभन्दा पनि नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई सहज बनाउने हो । ‘स्थानीय तह र प्रदेशसँग जोडिएका विकास निर्माणका कामहरूलाई नीतिगत तहबाट सहजीकरण गर्ने जिम्मेवारी प्रतिनिधिसभाको हो,’ उनले भने ।

उनले पार्टीले चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता पत्र नै आफ्नो प्रतिबद्धता हुने स्पष्ट पार्दै त्यससँगै भक्तपुर क्षेत्रलाई लक्षित गरेर छुट्टै प्रतिबद्धता पत्र तयार गरिरहेको पनि बताए । ‘अहिले हामी अध्ययन र लेखनकै चरणमा छौं, तर देशभरका समस्या मूलतः विकास र सुशासनसँग जोडिएका छन्,’उनले भने।

भक्तपुर क्षेत्र नं. २ मा नयाँ बस्ती र पुरानो शहर मध्यपुर ठिमी दुवै रहेको उल्लेख गर्दै खत्रीले फरक संरचना भएका क्षेत्रलाई फरक–फरक तरिकाले नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘म कायापलट गर्छु, स्मार्ट सिटी बनाउँछु भन्ने नाराभन्दा पनि नीतिगत तहबाट ढिलासुस्ती, भ्रष्टाचार, सार्वजनिक जग्गा अतिक्रमण र दीर्घकालीन विकासका अवरोध हटाउनेमा मेरो जोड हुनेछ ।’

आफू भक्तपुरबाट निर्वाचित भएपनि सांसद देशकै हुने धारणा राख्दै उनले भने, ‘मेरो राजनीतिक यात्रा भक्तपुरबाट सुरु भए पनि मैले बनाउने नीतिको लाभ भक्तपुरले मात्र होइन, महोत्तरीजस्ता अन्य जिल्लाले पनि पाउँछन् । नीति बनाउँदा भाषा, संस्कृति, भेषभूषा र जीवनशैली सबैलाई ध्यानमा राख्नुपर्छ ।’

प्रतिस्पर्धाबारे बोल्दै उनले सबै उम्मेदवार आफ्ना प्रतिस्पर्धी भएको स्वीकार गरे । ‘म कसैलाई हराउन गएको होइन, जित्न गएको हुँ ।’ भन्दै उनले यसपटक जित सुनिश्चित गरेर संघीय संसद पुग्ने दाबी गरे । रास्वपाले आफूलाई स्पष्ट उद्देश्यसहित मैदानमा उतारेको र संघीय संसदमा गएपछि संविधान संशोधनजस्ता ठूला एजेन्डामा काम गर्नुपर्ने उनले बताए ।

संविधान संशोधनका लागि दुई तिहाई बहुमत आवश्यक रहेको उल्लेख गर्दै खत्रीले संविधानभित्र रहेका केही कमजोर प्रावधान सुधार्नुपर्ने आवश्यकता औंल्याए । ‘त्यसका लागि म भक्तपुरबाट अनुमोदित भएर जान्छु,’ उनले भने । उनले राष्ट्रिय सभाको भूमिकामाथि पनि टिप्पणी गर्दै राष्ट्रिय सभा विज्ञहरूको थलो हुनुपर्ने संविधानको मर्म भएपनि पछिल्लो समय त्यो उद्देश्यबाट विचलित भएको बताए ।

‘चुनावबाट हारेर आएका व्यक्तिहरूको थलो बनेको छ,’ उनले भने । यद्यपि जनतामुखी विधेयकहरूमा राष्ट्रिय सभाबाट अवरोध हुन नसक्ने उनको विश्वास छ । ‘जनताको दबाब भएपछि कसैले पनि जनविरोधी अवरोध गर्न सक्दैन ।’ उनले भने, करिब २० वर्ष पत्रकारिता गरेको अनुभव स्मरण गर्दै खत्रीले आफू सँधैैं भुइँमान्छेका आवाज उठाउँदै आएको भन्दै रास्वपाले पनि यही विषयलाई आफ्नो विधानमा राखेको हुनाले आफू रास्वपामा जोडिएको पनि बताए ।

उनले भने, ‘मैले करिब २० वर्ष पत्रकारिता गरें । त्यस क्रममा भुइमान्छेका आवाज बोल्ने प्रयास गरें । मैले सर्वसाधारणका समस्याहरुलाई सम्बोधन गर्ने प्रयास गरें । राजनीतिमा जाँदै गर्दा मलाई के सोच आयो भने राजनीति गर्नेले राजनीति गर्दिएनन् । यसमा हस्तक्षेपको आवश्यकता छ । पार्टी सभापतिले पनि त्यही सोच्नुभएको छ ।’ जेनजी आन्दोलनका मुद्दालाई रास्वपाले अपनाएको दाबी गर्दै उनले भ्रष्टाचार अन्त्य, सुशासन, काण्डहरूको छानबिन र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीजस्ता विषयहरू नै युवापुस्ताको प्रमुख माग भएको बताए ।

उनका अनुसार, ‘जेनजीहरुका मुद्दा भनेको उनीहरुले ठूलो चिज केही पनि मागेका थिएनन् । उनीहरुले मागेको कुरा भनेको भ्रष्टाचार अन्त्यको कुरा थियो । सुशासनको कुरा थियो । बेथितिको कुराहरु थिए । त्यसैगरी काण्डै काण्डहरुका चाङ बनेका थिए । त्यो छानबिन हुनुपर्छ भन्ने थियो । सँगसँगै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको कुरा थियो । यो कुराहरुलाई पूरा गर्न नीतिगत तहमा नै गर्नुपर्ने कामहरु छन् । नीतिगत तहमा काम गर्नका लागि रास्वपाले जेनजी मुभमेन्टको जिम्मा लिन्छौं ।’

भदौ २३ र २४ गतेका घटनापछि राजनीतिक अवस्था नै फरक भएको उनको विश्लेषण छ । युवाहरू निराशा बोकेर सडकमा निस्किएको र उनीहरूमाथि गरिएको दमनले जनमतलाई गहिरो रूपमा प्रभावित पारेको उनले बताए । उनले, ‘भदौ २३ र २४ गते पछाडिको अवस्था फरक हो । त्यो मुभमेन्ट नभएर ०८४ मा निर्वाचन भएको थियो भने वा नियमित निर्वाचन भएको थियो भने पूराना पार्टी आउने आशंकाहरु थिए । तर २३ र २४ गते पछाडिको अवस्था फरक छ । भदौ २३ र २४ घटनाले पूरानो अङ्क गणितलाई नै भत्काई सकेको छ ।’

खत्रीका अनुसार अहिले मतदातामा स्पष्ट चेतना आएको छ । विशेषगरी महिलाहरू र पहिलोपटक वा दोस्रोपटक मतदान गर्न लागेका युवाहरूले सडकमा ज्यान गुमाएका वा घाइते भएका आफ्ना सन्तानजस्ता युवालाई सम्झँदै पुराना दललाई मत दिन नसक्ने मनस्थिति बनाएका छन् । ‘जनता अहिले परीक्षाको घडीमा छन् र यो निर्वाचनमा पक्कै निर्णायात्मक भूमिका खेल्नेछन्,’ उनले भने । रास्वपाप्रति देखिएको जनलहरले प्रतिस्पर्धी दलहरूलाई समेत परिणामको आभास भइसकेको उनको दाबी छ ।

संभावित षड्यन्त्र र जालझेलप्रति सचेत रहँदै उनले भने, ‘जनताले सबै कुरा नियालिसकेका छन्, त्यसैले यस्ता प्रयास सफल हुँदैनन् ।’ साथै उनले सरकार पनि निष्पक्ष र चुस्त भएर निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने बताए । उनले रास्वपाले कुनै दलसँग तालमेल नगरी निर्वाचनमा जाने निर्णय गरिसकेको स्मरण गराउँदै भने, ‘हाम्रो विधानमै तालमेल नगर्ने स्पष्ट व्यवस्था छ, त्यसैले त्यो सम्भावना अब रहँदैन ।’ सविता नयाँजू / नेपाल न्यूज बैंक

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ७ : ५० बजे