Logo

Breaking News 1

परिवर्तनका एजेन्डा कार्यान्वयन गर्न उम्मेदवारी दिएको हुँ : निरज लामा



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार निरज लामाले आफू परिवर्तनका एजेन्डालाई व्यवहारमा उतार्न उम्मेदवारी दिएको बताएका छन् ।

नेपाल न्यूज बैकसँगको कुराकानीमा उनले २०६२÷६३ को जनआन्दोलनदेखि निरन्तर बामपन्थी राजनीतिमा सक्रिक रहेको उल्लेख गर्दै देशमा देखिएको द्वन्द्व, अन्योल र असमानताकै बीच राजनीतिमा होमिएको बताए ।

लामाका अनुसार सशस्त्र द्वन्द्वको कारण, जनताको पीडा र राजनीतिक परिवर्तनका मुद्दाले आफूलाई राजनीतितर्फ आकर्षित ग¥यो । धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समावेशी र समानुपातिक प्रतिनिधित्वजस्ता एजेन्डाबाट प्रेरित भई जनआन्दोलनपछि निरन्तर राजनीतिमा लागेको उनको भनाइ छ ।

उनले भने ‘अब चुप लागेर बस्ने समय थिएन । समाज परिवर्तनको लागि मैंले केही न केही गर्नुपर्छ । मेरो क्षेत्रलाई देशको नीतिमा केही न केही परिवर्तन गर्नुपर्छ भन्ने कुरामा आत्मबोध भएको छ । सोही कारण मैंले टिकट पनि पाए र मेरो क्षेत्रका मतदातालाई माझ गएर आफुले आफुलाई साबित गर्ने अवसर मिल्यो ।’

उम्मेदवार लामाले पार्टीले आफूलाई अघि सारेर युवालाई अवसर दिएनन भन्ने गुनासोलाई चिरेको धारणा राखे । युवामाथि भरोसा र चाहना राख्नेहरुको लागि एउटा आशाको केन्द्र बनेर आफू आएको उनको भनाई छ । आफूले निर्वाचन जित्नेमा उनले विश्वास व्यक्त गरे ।

उनले भने ‘युवाले अवसर पाएनन् भन्ने गुनासो थियो, अहिले त्यो गुनासोलाई तोड्ने अवसर आएको छ । मतदाताले मलाई विश्वास गर्नुहुन्छ भन्नेमा आशावादी छु । एउटा किसिमको लडाई जिति पनि सकेजस्तो लाग्छ । किनभने सँधैभरि युवाले पाएनन्, पार्टीले युवालाई अवसर दिएन भन्ने आरोपबाट पार्टीले मुक्ति पाएको छ । मैंले जितिसकेको छु, अब मतदाताले साँच्चिकै जिताउनु पर्नेछ ।’

युवा युवा भन्न चाहनेहरुको लागि आफू एउटा आशाको केन्द्र भएको उनले बताए । ‘आशा मर्न दिनु हुँदैन । मतदाताहरुले पूर्ण विश्वास गर्नुहुन्छ । म चुनाव जित्छु भन्नेमा सतप्रतिशत विश्वस्त छु,’ उनले भने ।

उनले नीति र एजेन्डाबारे बोल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद, संघीयता र समावेशी लोकतन्त्र आफ्नो मूल राजनीतिक एजेन्डा रहेको स्पष्ट पारे । साथै, गत भदौ २३–२४ गते उठेको जनआवाजलाई संसदमा अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए ।

आफू काठमाडौं–३ मै जन्मिएको, हुर्किएको र सबै समुदायसँग नजिकबाट जोडिएको व्यक्ति भएकाले मतदाताले विश्वास गर्ने उनको दाबी छ । ‘म बौद्धमा जन्मिएको, त्यही माटोमा हुर्किएको मान्छे हुँ,’ उनले भने, ‘जनजाति, दलित, खस–आर्य सबैसँग मेरो आत्मीय सम्बन्ध छ ।’

विकास निर्माणतर्फ संकेत गर्दै लामाले आफ्नो क्षेत्रमा अझै आधारभूत विकासको आवश्यकता रहेको बताए । मूलखर्क, ओख्रेनी, तारेभीरजस्ता क्षेत्रमा भर्खरै मात्र सडक पुगेको बताउँदै उनले अब जीवनस्तर उकास्ने खालको विकासमा ध्यान दिने बताए ।

बौद्ध स्तुपा, जोरपाटी चोक, गोकर्णेश्वर धाम, शहीद पार्क, सुन्दरीजल, कागेश्वरी धामजस्ता क्षेत्रको संरक्षण, सौन्दर्यकरण र पर्यटन प्रवद्र्धन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

भ्रष्टाचार र सुशासनबारे बोल्दै उनले नेपाली कम्युनिस्ट पार्टीले ऐतिहासिक रूपमा भ्रष्टाचारविरुद्ध लड्दै आएको दाबी गरे । ‘अरूले बोल्छन्, हामीले गरेर देखाएका छौं,’ उनले भने ।

सुशासन कुनै एक नेताले मात्र सम्भव नहुने भन्दै जनप्रतिनिधि र नागरिक सबैको साझा जिम्मेवारी भएको उनले बताए ।
उम्मेदवार लामाले आगामी निर्वाचनलाई केवल चुनाव नभई विवेक र चेतनाको परीक्षा भएको उल्लेख गर्दै मतदातालाई तारा चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे ।

‘मेरो जित मात्र होइन, क्षेत्र र देशकै जित हुनेछ,’ उनले भने, ‘ममाथि विश्वास गरेर अवसर दिनुस्, म त्यो विश्वासलाई निराश हुन दिने छैन ।’

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ११ : ०६ बजे