Logo

राजनीति

एमाले उम्मेदवार जिताउन युवा संघले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने



काठमाडौैं । राष्ट्रिय युवा संघ नेपालले फागुन २१ को चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि लागिपर्ने उम्मेदवारलाई जिताउन प्रभावकारी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

गत शुक्रबार महाधिवेशनपछिको पहिलोको निर्णय सार्वजनिक गर्दै संघले बैठकले वर्तमान राजनीतिक परिस्थितिको वस्तुगत विश्लेषण गर्दै आम चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि लागिपर्ने उम्मेदवारलाई जिताउन प्रभावकारी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

विज्ञप्तिमा लेखिएको छ,‘यो बैठक एक यस्तो ऐतिहासिक क्षणमा सम्पन्न भएको छ जतिबेला मुलुक नैं एक अत्यन्तै कठिन कालखण्डबाट गुञ्जिरहेको छ भने सिंगो विश्व व्यवस्था नै चरम अनिश्चयतर्फ अग्रसर छ । भू–राजनीति पेचिलो बन्दै गएको यसै समयमा हामी आम निर्वाचनको सम्मुखमा छौं । यस ऐतिहासिक बैठकले वर्तमान राजनीतिक परिस्थितिको वस्तुगत विश्लेषण गर्दै आम चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि लागिपर्ने उम्मेदवारलाई जिताउन प्रभावकारी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।’

त्यस्तै बैठकले संगठनलाई राजनीतिक रुपमा प्रशिक्षित, वैचारिक रुपमा सुस्पष्ट र सांगठनिक रुपमा चुस्त बनाउन महत्वपूर्ण राजनीतिक–सांगठनिक निर्णयहरु गरेको छ । बैठकले नेपाली युवा आन्दोलनलाई नयाँ गति प्रदान गर्ने र आगामी आम चुनावमा मुलुक बनाउने शक्तिलाई जनमतमार्फत अनुमोदन गराउने उदेश्यसहित संघका निवर्तमान अध्यक्ष एवं पार्टी केन्द्रीय कमिटी सदस्य क्षितिज थेवेको नेतृत्व हस्तान्तरण गर्ने सम्बन्धि प्रस्ताव सर्वसम्मतीले पारित गर्दै महाराज गुरुङ्गलाई सघको अध्यक्षमा निर्वाचित गरेको छ ।

बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि संगठनका सबै सदस्यहरुलाई परिचालित गर्ने निर्णय गरेको छ जसअन्तर्गत पिरामिड शैलीमा समन्वय, सहकार्य र परिचालित गर्ने गरि प्रत्येक तहमा निर्वाचन परिचालन कमाण्ड बनाएको संघले जनाएको छ ।
केन्द्रमा संगठनका अध्यक्ष महाराज गुरुङ्गको नेतृत्वमा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमाण्ड बनाएको छ ।

प्रदेशगत रुपमा मातहतका निर्वाचन परिचालन कमाण्डहरुलाई सयोजन र नेतृत्व गर्ने गरि पदाधिकारी र सचिवालय सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको छ । यसका साथै १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय भएको छ ।

बैठकले उक्त कमाण्डमा संगठनद्वारा तोकिएको केन्द्रीय सदस्यको नेतृत्वमा उक्त निर्वाचन क्षेत्र अन्तर्गत मतदान केन्द्र भएका संगठनका केन्द्रीय निकाय तथा केन्द्रीय विभागका सदस्यहरु र सम्पूर्ण मातहत कमिटी (प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र टोल कमिटी) का पदाधिकारी तथा सदस्यहरु रहने निर्णय गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्ड अन्तर्गत ६७४३ वटै वडामा वडा कमाण्डर र १०९६७ वटै बुथमा बैठकले बुथ कमाण्डर तोकेको छ ।
संघका अनुसार निर्वाचन परिचालन कमाण्डहरुले उम्मेदवारहरुलाई जिताउन आवश्यक प्रचारप्रसार रणनीति बनाउने, आम मतदातामा जागरण ल्याउने, मतदानका लागि भयरहित वातावरण बनाउने र उम्मेदवारसहितको सुरक्षा प्रबन्ध गर्नेछन् ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : १४ बजे