Logo

अर्थ

स्किल विक २०२६ सम्पन्न, पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित



काठमाडौं । ग्लोकल प्रालिको इकाइ ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित ‘स्किल विक २०२६’ को सातौँ संस्करण सम्पन्न भएको छ ।
कार्यक्रमको समापन अवसरमा सीप प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएका पाँच जना व्यक्तित्वलाई ‘स्किल हिरो अवार्ड २०२६’ प्रदान गरिएको छ ।

प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ तथा १०० भन्दा बढी उत्साही युवाहरूको सहभागितामा सम्पन्न ‘स्किल विक २०२६’ युवाहरूलाई व्यवहारिक सीप, सिर्जनशीलता र भविष्यका अवसरहरूसँग जोड्ने उद्देश्यले आयोजना गरिएको थियो । ‘इन्फोटेनमेन्ट हप्ता’ का रूपमा मनाइएको यस संस्करणमा कार्यशाला, सीप–केन्द्रित प्रतियोगिता, प्रदर्शनी, सिकाइ सत्र तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश थिए ।

जनवरी ११ देखि १६ सम्म सञ्चालन भएको कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार प्रमुख क्षेत्रलाई केन्द्रमा राखिएको थियो ।

यस क्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण तथा सांगीतिक कन्सर्टजस्ता गतिविधिहरू पनि आयोजना गरिएको थियो । विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूसँग आफ्नो अनुभव र ज्ञान साट्दै सीपको महत्त्वबारे प्रेरणा दिएका थिए ।

समापन समारोहमा प्रदान गरिएको ‘स्किल हिरो अवार्ड २०२६’ पाँच विधामा वितरण गरिएको हो । पर्यटन तथा आतिथ्य विधातर्फ मुम्बई र पेरिसको इकोल डुकासबाट पाककलामा विशेषज्ञता हासिल गरेका ऋषभ अग्रवाल सम्मानित भए । उनले काठमाडौँमा ‘सिल्क आर्टिसनल क्रिमरी’मार्फत नेपाली स्वाद र अन्तर्राष्ट्रिय स्तरको आइसक्रिमलाई जोड्दै नयाँ पहिचान स्थापित गरेका छन् ।

कला तथा संस्कृति विधातर्फ दुई दशकभन्दा बढी समयदेखि फोटोग्राफीमा सक्रिय किशोर कायस्थ सम्मानित भए । ‘मुस्ताङ नोस्टाल्जिया’ परियोजनामार्फत उनले नेपालको बदलिँदो भूगोल र जनजीवनलाई कलात्मक रूपमा दस्तावेजीकरण गरेका छन् । उद्यमशीलता विधातर्फ मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई सम्मान गरिएको छ। उनले ‘मक्कुसे’ नामक लक्जरी डेजर्ट ब्रान्डमार्फत परम्परागत नेपाली मिठाइलाई आधुनिक रूप दिँदै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सफल भएकी छन् ।

विज्ञान तथा प्रविधि विधातर्फ समीर फुयाँल सम्मानित भएका छन् । ग्लोकल टिन हिरो २०१९ का विजेता फुयाँलले ‘बाइटकेयर टेक्नोलोजी’ मार्फत ‘कारोबार एप’ विकास गरी साना व्यवसायीलाई डिजिटल लेखा प्रणालीमा जोड्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

यस्तै, प्रशिक्षुता विधातर्फ सोनाम नेम्वाङ लाई सम्मान प्रदान गरिएको छ। उनले डिजिटल सीप र सूचना प्रविधि क्षेत्रमा प्रशिक्षणमार्फत युवाहरूलाई व्यावसायिक रूपमा सशक्त बनाउन योगदान पु¥याउँदै आएकी छन् ।

यसै क्रममा माघ २ गते पुल्चोकस्थित एम्बार्क कलेजमा ‘स्किल फेस्ट’ आयोजना गरिएको थियो, जहाँ कार्यशाला, प्रदर्शनी तथा रोजगार मेला सञ्चालन भएका थिए । सोही दिन ‘सिइओ अनप्लग्ड’ को ११ औँ संस्करण पनि सम्पन्न भएको थियो ।

‘टुडे मिट्स टुमरो’ भन्ने नाराका साथ आयोजित उक्त सत्रमा पद्म ज्योति ग्रुपका सौरभ ज्योति, नियोटेरिक नेपालका संजय गोल्छा र दराज नेपालकी आँचल कुँवर सहभागी थिए । प्यानल छलफलमा भविष्यको बजारमा सीपको आवश्यकता र शिक्षा तथा उद्योगबीचको खाडल कसरी पुर्ने भन्ने विषयमा चर्चा गरिएको थियो ।


Photos (1)

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : १४ बजे