काठमाडौं । माघे संक्रान्तिको अवसरमा काठमाडौं उपत्यकामा तरुलसहित कन्दमूलको कारोबार तीव्र बनेको छ । विशेष गरी तरुल, पिँडालु र सखरखण्डको माग बढेपछि पुष मसान्त सम्म कन्दमुलको आगमन उल्लेख्य रूपमा वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यो हप्तामात्रै करिब ८०० देखि ९०० टन तरुल बजारमा भित्रिएको छ । पुष महिनाभरको तथ्याङ्क हेर्दा हालसम्म करिब १ हजार ३ सय टन तरुल भित्रिसकेको छ । यस वर्ष कन्दमूलको कुल आगमन करिब ३ हजार ४ सय टन पुगेको छ, जसमा झन्डै ६० प्रतिशत हिस्सा तरुलको रहेको छ ।
तरुलको मुख्य आपूर्ति आन्तरिक उत्पादन क्षेत्रबाट नै हुने गरेको श्रेष्ठले बताए । उनका अनुसार तराईका सर्लाही, सुनसरी र मोरङ जिल्लाबाट मात्रै करिब ६० प्रतिशत तरुल आपूर्ति हुने गरेको छ । यस्तै, धादिङ, काभ्रे, मकवानपुरलगायत उपत्यकाका छिमेकी जिल्ला तथा पूर्वको झापादेखि पश्चिमतर्फ पाल्पासम्मका जिल्लाबाट पनि तरुल आउने गरेको छ ।
आन्तरिक उत्पादन पर्याप्त भए तापनि केही मात्रामा भारतीय कन्दमूल पनि भित्रिने गरेको छ । “करिब ९० प्रतिशत कन्दमूल आन्तरिक उत्पादनकै हुन्छ, बाँकी ८–१० प्रतिशत भारतबाट आउने गरेको देखिन्छ,” श्रेष्ठले भने । विशेष गरी सखरखण्ड भने भारतीय क्षेत्रबाट बढी आउने गरेको उनले जानकारी दिए ।
समितीको तथ्याङ्कअनुसार यो पुष महिनामा हालसम्म करिब १ हजार ७३० टन तरुल, ५७० टन पिडालु र १ हजार १ सय टन सखरखण्ड बजारमा भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष कन्दमूलको आगमन बढेको देखिन्छ । विशेषगरी सखरखण्डको आयात झन्डै दोब्बर भएको छ । गत वर्षको पुषमा २८६ टन सखरखण्ड भित्रिएकोमा यस वर्ष करिब ६ सय टन भित्रिसकेको छ ।
मूल्यको सन्दर्भमा, सखरखण्डको मूल्य तुलनात्मक रूपमा स्थिर भए पनि माघे संक्रान्तिलाई लक्षित गर्दै तरुलको मूल्य दिनानुदिन बढ्दो देखिन्छ । संक्रान्तिको दिन बजारमा आएको तरुल प्रायः सकिने भएकाले त्यसअघिसम्म मूल्य उकालो लाग्ने गरेको श्रेष्ठले बताए ।
हाल बजारमा सर्लाहीतिरबाट आउने आकाशे तरुल र पाताले तरुल बढी बिक्री हुने गरेका छन् । यी तरुल केही दिनअघि प्रतिकिलो ७०–८० रुपैयाँमा बिक्री हुँदै आएकोमा हाल १०० देखि १५० रुपैयाँसम्म पुगेको छ । सुनसरी र मोरङबाट आउने हात्तीपाइले तरुल प्रतिकिलो ८०–१०० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, वनतरुल भने २०० रुपैयाँभन्दा माथि पुगेको छ भने सिमलतरुल, सेतो तरुल र मुडे तरुलजस्ता स्थानीय तरुल थोकमा ६०–७० रुपैयाँमा कारोबार भइरहेको छ ।
श्रेष्ठका अनुसार पहिले कालीमाटी नै मुख्य थोक बजार रहे पनि अहिले उपत्यकाका विभिन्न स्थानमा ठूला थोक बजार खुलेपछि तरुललगायतका उपजहरू सोझै ती बजारमा पुग्ने प्रवृत्ति बढेको छ । यसका कारण काठमाडौँ उपत्यकामा प्रवेश गर्ने वास्तविक परिमाण कालीमाटीमा देखिएको भन्दा अझ बढी हुन सक्ने अनुमान गरिएको छ । माघे संक्रान्तिसँगै तरुलको कारोबार लगभग समाप्त हुने र त्यसपछि बजारमा माग घट्ने भएकाले संक्रान्तिसम्म तरुलको मूल्य उच्च नै रहने श्रेष्ठले बताए ।











प्रतिक्रिया