काठमाडौं । ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा हिजो दोस्रो दिन व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। सो अभियानबाट १९ हजार ९ सय २३ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्।
ट्राफिक प्रहरीले यात्रु, पैदलयात्री र चालकलाई लक्षित गर्दै सुरक्षित जेब्राक्रसिङ, आकाशेपुल र सब–वे प्रयोग गराउँदै सचेतना फैलाएको हो। यस क्रममा ५ हजार ३ सय १ जना यात्रु र पैदलयात्रीलाई सुरक्षित बाटो काट्ने अभ्यास गराइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यक्रममा ३ सय १९ जना चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण, २ सय ११ जना चालक–परिचालकसँग चियापानमार्फत अन्तरक्रिया, ४२ जना टिपर चालकलाई दुर्घटना न्यूनीकरण प्रशिक्षण, र ८३ जना ट्राफिक स्वयंसेवक परिचालन गरिएको थियो।
त्यसैगरी ४ हजार ८ सय ३५ जना चालक र परिचालकसँग दुई मिनेट सचेतना कार्यक्रम, २ हजार २ सय ३४ जना दुई पाङ्ग्रे र २ हजार ९ सय ३७ जना चार पाङ्ग्रे सवारी चालकलाई विशेष सचेतना प्रदान गरिएको थियो। साथै रात्रीकालीन समयमा २ हजार ८ सय ८ जनालाई सचेतना दिइएको थियो।
सडक सुरक्षालाई थप प्रभावकारी बनाउन २ सय ७० स्थानमा सडक फर्निचर सरसफाइ, १ सय ३५ सवारी साधनलाई पिक एन्ड ड्रप व्यवस्थापनबारे जानकारी, १० हजार ६ सय १० जनालाई पर्चा–पम्प्लेट वितरण र ४ हजार ५ सय १४ वटा ट्राफिक सचेतनामूलक स्टिकर टाँस गरिएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए अनुसार, सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने यथार्थलाई आत्मसाथ गर्दै सुरक्षित सडक संस्कार विकास र जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह सञ्चालन भइरहेको छ।











प्रतिक्रिया