पछिल्ला दिनमा वैकल्पिक शक्तिहरुको उदय भएको छ । तर नेपाली जनताले वैकल्पिक शक्तिहरुको पनि धेरै पटक परीक्षा लिइसकेका छन् । भोट दिएर विजयी गराएर उनीहरुको काम हेरिसकेका छन् । त्यसैले यतिबेला जनताले पूराना पार्टीका नयाँ अनुहारलाई खोजेका छन् ।
नानु बाँस्तोला
केन्द्रीय सदस्य
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ नानु बाँस्तोलाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत रुपमा सार्वजनिक भएकाले महाधिवेशन हुँदैन् भन्नेमा आशंका गर्न नहुने बताएकी छिन् । उनले इमान्दारिताका साथ काम गर्न सकेको खण्डमा महाधिवशेन राष्ट्रिय निर्वाचन अगाडि नै सम्पन्न गर्न सकिने बताइन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भनिन्,‘यतिबेला पार्टीले महाधिवेशन र निर्वाचनको तयारी दोहोरो जिम्मेवारीका साथ काम गरिरहेको छ । कार्यतालिका नआउँदासम्म महाधिवेशन हुँदैन कि भन्नेमा आशंका थियो तर अब सर्वसम्मत रुपमा आएकाले कुनै शंका गर्नु पर्दैन् । किनभने अब हामीले एक भएर एकताबद्ध रुपमा महाधिवेशनको तयारीमा जुट्नुपर्छ । जसका कारण महाधिवेशन सफल हुन्छ,’ उनले भनिन् ।
पार्टीभित्र तीन चार पुस्ताको प्रतिनिधित्व रहेकाले जेनजी पुस्ताले उठाएका मागहरु पूरा गर्न कांग्रेस तत्पर रहेको औंल्याउँदै उनले परिपक्व नेतृत्व आजको आवश्यक्ता भएको बताइन ।
‘हामीलाई एकताबद्ध, परिपक्व र इमान्दार नेतृत्व चाहिएको छ । आगामी दिनमा पार्टीले सबै समूहलाई मिलाएर निर्वाचनको टिकट वितरण गर्ने विश्वस्त छौं,’ उनले अगाडि भनिन्,‘केही व्यक्तिहरु वा नेताहरुका कारण पार्टीभित्र समस्या आएको हो । न्यून संख्यामा रहेका केही नेताहरुले सुशासन दिन नसक्दा र सत्ताको दुरुपयोग गरेका कारण तिनका भारी हामीहरुले बोक्नुपरेको छ । यस विषयमा पटक पटक आवाज उठाइरहेको छु । त्यसैले पार्टीभित्र आन्तरिक सुशासन आयोग बनाउनुपर्छ । कुनै नेताहरुमाथि प्रश्न उठेको खण्डमा छानविन गरेर सरकारसम्म सिफारिस गर्नेगरी आयोग चाहिएको हो ।’
पूराना नेताहरुले विश्राम लिनुपर्ने आवाज उठाइरहेको प्रसंगमा कुरा गर्दै उनले कतिपय ठाउँमा पूराना वा पाका नेताहरुको विशेष भूमिका हुनसक्ने भएपनि कतिपय स्थानमा पाका नेताहरुले अभिभावकका रुपमा बस्नुपर्ने अवस्था आएको बताइन् ।
‘कांग्रेसभित्र सबै उमेर समूहका व्यक्तिहरुको विचार छ । पार्टीमा युवादेखि परिपक्व वा पाका नेताहरुको आवश्यक्ता छ । जेनजी पुस्ताले उठाएका मागहरु सम्बोधन गर्नपनि भूमिकाविहीन भएका, अवसर नपाएका, उमेर अनुसार अवसर दिनुपर्छ । टिकट वितरण पनि सोही अनुसार हुनुपर्छ । टिकट वितरणमा पनि पार्टीले सबै क्लस्टर मिलाएर गर्नुपर्छ । यसमा संख्याको हिसाबकिताब हुनु हुँदैन्,’ उनले भनिन् ।
जेनजीलाई अवसर, पाकालाई सम्मान
नेतृ वाँस्तोलाले यतिबेला पार्टीको झण्डामुनी रहेका जेनजी एवम युवा पुस्ताहरुले उचित अवसर पाउनेपर्ने पनि बताइन् । उनले भनिन्,‘ आउँदै गरेका नवयुवाहरु अर्थात जेनजी पुस्तालाई हामीले समेट्नुपर्छ । पार्टीकै झण्डामुनि रहेर, सानो उमेरदेखि नेपाली कांग्रेसमा आबद्ध भएर काम गर्ने साथीहरु धेरै हुनुहुन्छ उहाँहरुको भावनालाई पनि सम्बोधन गर्नुपर्छ । अर्को कुरा कतिपय ठाउँमा परिपक्व नेतृत्व चाहिएको छ । पार्टीलाई मजबुत बनाउनका लागि सबै विचार सबै समूहलाई र सबै उमेर समूहलाई हामीले हाम्रो पार्टीभित्र एकताबद्ध बनाउन जरुरी छ । परिपक्व उमेर समूह पनि केही ठाउँमा चाहिएको छ ।’ उम्मेदवार चयन गर्दापनि विवेक पुर्याउन उनले आग्रह गरिन् । प्रतिष्ठाका लागि नभइ सेवाको लागि लागेका कार्यकर्ताहरुलाई उचित अवसर प्रदान गर्नुपर्ने उनको बुझाइ छ ।
पद नै सबैथोक होइन्
पार्टीको जिल्ला सम्पर्क समिति समन्वय विभागको प्रमुख समेत रहेकी केन्द्रीय सदस्य बाँस्तोलाले पद स्थायी नहुने भएकाले पदका पछि लाग्न नहुने सुझाव दिइन् । ‘पद भन्ने कुरा स्थायी हुँदैन् । म अहिले केन्द्रीय समितिमा छु, १५औं महाधिवेशनमा केन्द्रीय समितिमा नआउन पनि सक्छु । तर जिम्मेवारी पाएको बेलामा इमानदारीपूर्वक काम गर्ने हो र जिम्मेवारी सकिएपछि पनि फेरि संगठनका लागि काम गर्ने हो,’ उनले भनिन् ।
आफूसँग पद नभएपनि अरुलाई सहयोग गर्नुपर्ने भन्दै उनले सत्तामा बसेर वा पदमा बसेर मात्रै होइन बाहिर बसेर पनि काम गर्न सक्नुपर्ने उनको भनाइ छ । ‘सत्ता बाहिर वा सत्ता संगठन भन्दा बाहिर बसेर पनि संगठनको काम गर्न सक्छौं । किनभने राजनीति भनेको सेवा हो । सेवा गर्नको लागि पद नै चाहिन्छ भन्ने होइन्,’ उनले भनिन् ।
आगामी महाधिवेशनका लागि नेतृत्वको आकांक्षा राखिरहेका नेताहरुप्रति लक्षित गर्दै उनले पदका लागि आकाक्षा राख्नु अस्वभाविक नभएको औंल्याइन् । तर कतिपय हिजोका दिनमा पाएको अवसर र जिम्मेवारीबाट कमाएको इज्जतलाई कायम राख्न पदकै लागि अगाडि बढ्न नहुने उनको सोच छ ।
सहज बन्दैछ गाउँ
जेनजी आन्दोलनपछि असहज बनेको भनिएको ग्रामिण इलाका हाल सहज बन्दै गएको उनको भनाइ छ । काठमाडौंको प्रतिनिधि सभा क्षेत्र नम्बर ९ आफ्नो क्षेत्र रहेकाले हाल सहज रुपमा मतदाता र कार्यकताहरुलाई भेट गरिरहेको उनले सुनाइन् ।
‘केही समयअघि म क्षेत्रका घरहरुमा पुग्दा जवाफ दिन नसक्ने अवस्थामा थिएँ । मतदाता एवम शुभेच्छुकहरुको प्रश्न जवाफ दिन नसक्ने अवस्थामा थिए तर केन्द्रीय समितिको बैठक एवम निर्णयहरुले केही सहज भएको छ,’ उनले भनिन्,‘यतिबेला गाउँतिर उत्साह छ, जनता उत्साहित छन् ।’
पूराना पार्टीका नयाँ अनुहार खोजीमा छन्
जेनजी आन्दोलनपछि नयाँ राजनीतिक दलहरुको उदयले पूरानाहरुलाई असहज बन्दै गएको छैन् भन्ने प्रश्नमा उनले यस्तो परिस्थिति इतिहासमा धेरै पटक आएको प्रतिक्रिया दिइन् । ‘अहिले वैकल्पिक शक्तिहरुको उदय भएको छ । तर नेपाली जनताले वैकल्पिक शक्तिहरुको पनि धेरै पटक परीक्षा लिइसकेका छन् । भोट दिएर विजयी गराएर उनीहरुको काम गराइ हेरिसकेका छन् । त्यसैले यतिबेला जनताले पूराना पार्टीका नयाँ अनुहारलाई खोजेका छन् । मतदाताको घर घरमा पुग्दा उहाँहरुले वैकल्पिक भनिएका पार्टी भन्दापनि पुराना पार्टीका नयाँ अनुहार रोजेका छन्,’ उनले अगाडि भनन्,‘पुराना दल भित्रका नयाँ फेस नयाँ उर्जाका साथ युवा साथीहरुलाई खोजेको देखिन्छ । एउटै मान्छेलाई सातआठ पटक भन्दापनि नयाँ अनुहार रोजाइमा छन् ।’
यस्तोबेला नेपाली कांग्रेसले अलिकति विवेकपूर्ण रुपले निर्णय लिनसक्नुपर्ने उनको सुझाव छ । ‘परिपक्क नयाँ अनुहारहरु जो कुनै पनि सत्तामा नबसेका व्यक्तिहरुलाई खोजीमा छन् । क्षमता र योग्यता भएका समाजको एजेन्डा बोक्न सक्ने उम्मेदवार गाउँले खोजेको छ । वैकल्पिक शक्तिले मात्र केही हुँदैन्,’ उनले प्रष्ट पारिन् ।
निर्वाचनको तयारी अपुग
सरकारले फागुन २१ का लागि तोकेको निर्वाचनको मिति र काम गराइप्रति उनले झिनो आशंका व्यक्त गरिन् । ‘हिजोआज निर्वाचनप्रति कता कता आशंका लाग्न थालेको छ । प्रधानमन्त्रीहरुलाई हाम्रा नेताहरुले भेट्नु पनि भएको छ । प्रधानमन्त्रीज्यूको भनाइ सुन्दा आगामी हुने निर्वाचन समयमै नै हुन्छ भन्ने नै छ । आयोगले पनि तयारी गरिरहेको अवस्था छ । तर जति गर्नुपर्ने थियो भएको छैन् । विगतमा हाम्रै नेतृत्वमा पनि थुप्रै निर्वाचनहरु सम्पन्न भएका छन् । त्यतिबेला जति जुन रफ्तार र समय लाग्थ्यो त्यो समय अहिले पर्याप्त छैन् । अर्को कुरा मतदातामा आशंका छ, उनले अगाडि भनिन्,‘प्रहरी प्रशासनमा पनि पहिलेजस्तो कमाण्ड देखिएको छैन् । त्यसैले निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरामा आशंका लागेको छ ।’
सरकारको टिओआर भनेको छ महिनाभित्र निर्वाचन गराउने नै हो तर उहाँहरुले नियुक्तिमा, राजदूत फिर्ता बोलाउने कुराहरु अल्झिरहेकाले निर्वाचन समयमै नहुने हो कि भन्नेमा बल पुगेको उनले भनाइ छ । ठूलो दुर्घटनाबाट नेपाल बचेकाले, ठूलो त्याग तपस्या, बलिदान, रगत–पसिना बगाएर ल्याएको गणतन्त्र र संविधानको रक्षाको लागि निर्वाचन गर्न अपरिहार्य रहेको उनको ठम्याइ छ ।
सरकारको रवैया एकतिर, पुलिस प्रशासन अर्कोतिर अनि दलहरु पनि अर्कोतिर देखिएकाले निर्वाचन हुनेमा आशंका लागेको उनले बताइन् । आन्दोलन पश्चात थुप्रै नेताहरुको घर जलेको, पार्टी कार्यालयहरु जलेकाले काम गर्न असहज भएको उनले बताइन् । तर निर्वाचनको तयारीमा आफूहरु जुटेको उनको भनाइ छ । अब हामी सबैजना मिलेर यो राष्ट्रलाई बचाउने हो भने संविधानलाई बचाउने हो भने निर्वाचन आवश्यक रहेको उनले बताइन् ।
प्रणाली बचाउन जरुरी
नेतृ बाँस्तोलाले यतिबेला सबै मिलेर लोकतन्त्र र प्रणाली बचाउन आवश्यक रहेको औंल्याइन् । ‘सबैजना वा सबै दलका सबै आम नेपाली नागरिक, सबैको सम्मान गर्दै देशलाई अझै अगाडि लाने हो भने सबै नागरिक जिम्मेवार हुनुपर्छ । सिस्टमलाई पनि बचाउनुपर्छ,’ उनले भनिन् ।
जेनजीहरुको म्यान्डेट भनेको सुशासन रहेकाले सत्तामा बस्ने सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताइन् । ‘पार्टीभित्र रहेका नेताहरुको पनि सम्पत्ति छानबिन गरेर एउटा सुशासनको बाटोमा नेपाललाई लैजानुपर्छ । हाम्रा जागरहरु जोशहरु अझै मरेर गएका छैनन् । यसबाट हामीले पाठ सिक्नुपर्छ । भदौ २३ र २४ को आन्दोलनलाई लिएर एकले अर्कोलाई गाली गर्ने होइन् । त्यसबाट पाठ सिकेर आगामी दिनमा रणनीति बनाउनुपर्छ,’ उनले भनिन् ।










प्रतिक्रिया