Logo

समाचार

रवि लामिछानेविरुद्ध दायर राहदानी दुरुपयोगसम्बन्धी रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो। महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको विषय कानुनविपरीत रहेको दाबी गर्दै पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

महान्यायाधिवक्ता कार्यालयले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेको थियो। त्यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले पनि सोही प्रकरणमा मुद्दा नचलाउने निष्कर्ष निकालेका थिए।

रिट निवेदनमा लामिछानेले राहदानी कुन–कुन समयमा र के–कुन प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने माग गरिएको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : २३ बजे