काठमाडौं । आज नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन बिहान आठ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । निर्धारित समयमै सुरु भएको मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् ।
मतदान स्थलमा उत्साहपूर्ण वातावरण छ भने प्रतिनिधिहरू र उम्मेदवारहरू एक अर्कासँग चिनजान गर्दै भोट मागिरहेका छन्।मतदान लाइनमा महिला र पुरुष प्रतिनिधि एउटै स्थानमा बसेको विषयमा जिज्ञासा राख्दा दुई जना महिला प्रतिनिधिले कुनै समस्या नरहेको स्पष्ट पारे।
उनीहरूले महिला र पुरुषलाई फरक–फरक रूपमा हेर्नु आवश्यक नरहेको बताउँदै ‘हामी महिला–पुरुष भनेका एक रथका दुई पाङ्ग्रा हौँ,’ भन्दै आपसी सम्मान र सकारात्मक सोचका साथ लाइनमा बसेको प्रतिक्रिया दिए ।
उनीहरूले जुनसुकै ठाउँमा पनि महिला–पुरुष भनेर छुट्याउनुभन्दा समान सहभागिता र समान अवसरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। पार्टीभित्र लैङ्गिक समानताको अभ्यास व्यवहारमै देखिनु सकारात्मक सन्देश भएको उनीहरूको भनाई छ ।
यसैबीच प्रतिनिधिहरूले मतदान प्रक्रिया भोटिङ मेसिनमार्फत भइरहेको जानकारी दिएका छन् । प्राविधिक कारणले हिजो हुनुपर्ने मतदान आज सारिएको भए पनि अहिले प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ । यदि कसैले भोट हाल्न नजानेको अवस्थामा सिकाउने र सहयोग गर्ने व्यवस्था गरिएको पनि प्रतिनिधिहरूले बताए ।
प्रतिनिधिहरूले चुनावी प्रक्रियाबाट जुन नेतृत्व आए पनि स्वीकार्य हुने स्पष्ट पारे । लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचित नेतृत्वलाई सबैले साथ, सहयोग र समर्थन गर्नुपर्नेमा उनीहरूको जोड थियो ।
‘जो आए पनि नेकपा एमालेको समग्र अभिभावक भएर आउने नेतृत्व हो,’ एक प्रतिनिधिले भने, ‘त्यसैले व्यक्तिगत हार–जितभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउने जिम्मेवारी हामी सबैको हो,’ यस भनाइले महाधिवेशनको लोकतान्त्रिक अभ्यास र एकताको सन्देशलाई थप बलियो भएको प्रतिनिधीको भनाई छ ।










प्रतिक्रिया