Logo

समाचार

अमेरिका–यूके पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ


२६ मंसिर २०८२, शुक्रबार  

138
Shares

काठमाडौं। अमेरिका र युक्रेजस्ता मुलुकमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं–२७ का मनोजकुमार सिंह (अनुपकुमार सिंह) र मध्यपुर थिमी–९, भक्तपुरका नरबहादुर श्रेष्ठ (लड्डुबहादुर श्रेष्ठ) रहेका छन्।

पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले झापा प्रहरीको सहयोगमा मेचीनगर–१०, धुलाबारीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार दुवै जना आफूलाई महावज्रयोगिनी एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिका सञ्चालक तथा ‘पूर्वराजपरिवारको भान्जा’ भनेर परिचय दिँदै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएका थिए। उनीहरूले यूकेको म्यान्चेस्टरस्थित मिडल्यान्ड होटलमा कामदार मागिएको दाबी गर्दै नक्कली रोजगार सम्झौतापत्र, बेलायती दूतावासको बनावटी पत्र, भिसा र हवाई टिकट देखाई उच्च तलबको प्रलोभनमा पार्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सिंह र श्रेष्ठलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको प्रहरीको भनाइ छ। सिंहविरुद्ध यसअघि ठगी र धाकधम्कीसम्बन्धी सात मुद्दा दर्ता भइसकेका छन्।

प्रहरीले उद्धृत व्यक्तिबाट ठगिएकाहरूलाई सम्बन्धित कागजातसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ७ : ०१ बजे