काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा काठमाण्डू गोर्खाज १११ रनमै समेटिएपछि लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर प्रवेशका लागि ११२ रनको लक्ष्य पाएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको काठमाण्डू १९.१ ओभरमै सबै विकेट गुमाएर १११ रनमा रोकियो। काठमाण्डूका सन्तोष यादवले २२ रनको योगदान दिए। आदिल आलम र जोन सिम्पसनले समान १८ रन, भीम सार्कीले १४ रन तथा कप्तान करण केसीले ९ रन बनाए। शीर्षक्रम भने कमजोर रह्यो — बेन चाल्र्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २ र रासिद खान २ रनमै पavilion फर्किए। पहिलो पावर प्लेमै काठमाण्डू २९–४ को अवस्थामा पुगेको थियो।
लुम्बिनीका शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। कप्तान रोहितकुमार पौडेलले पनि तीन विकेट हात पारे। रुबेन ट्रम्पेलमनले दुई तथा अभिशेष गौतमले एक विकेट लिए।
एनपीएल इतिहासमा काठमाण्डू र लुम्बिनी पहिलोपटक प्लेअफमा भिड्दै छन्। यसअघि पहिलो संस्करणमा काठमाण्डू पाँचौँ र लुम्बिनी पुछारमा रहेका थिए। यस संस्करणमा काठमाण्डू सात खेलमा १० अंकसहित तेस्रो र लुम्बिनी आठ अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा पुगेका हुन्।
लिग चरणमा काठमाण्डूले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो।










प्रतिक्रिया