Logo

मुख्य समाचार

शाक्यले कार्यभार सम्हाले, बाँकी साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्ने घोषणा



काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि पुनःस्थापित नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाँकी साढे तीन वर्षको कार्यकालमा सरकारसँग सहकार्य गर्दै संस्थागत सुधार र विद्युत् उत्पादन विस्तारमा ध्यान केन्द्रित गर्ने बताए ।

बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै शाक्यले आफूले जनताका लागि दिगो र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राथमिकता दिने बताए । उनले प्राधिकरणले विगतमा निजी कम्पनीमार्फत मात्रै विद्युत् उत्पादन गरेको उल्लेख गर्दै अब प्राधिकरण आफैं पनि उत्पादनमा अग्रसर हुने बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रक्रिया नअपनाई आफूलाई हटाएको निर्णय अदालतले उल्ट्याएपछि शाक्य पुनः प्राधिकरण फर्किएका हुन् । तीन दशकभन्दा बढी प्राधिकरणमा सेवा गरेको स्मरण गर्दै उनले पदमाथि भएका आक्रमण र आरोपप्रति नआत्तिएको प्रतिक्रिया दिए ।

शाक्यले गत कार्यकालमा सुनुवाइ ढिलाइका कारण अन्याय भोग्नुपरेको उल्लेख गर्दै यसपटक अदालतले समयमै सुनुवाइ गरेपछि न्याय प्राप्त भएको बताए ।

मन्त्रिपरिषद्ले ५ असोजमा शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालतले सोमबार त्यसलाई खारेज गर्दै शाक्यलाई पदमा पुनर्स्थापित गर्ने आदेश दिएको थियो । आदेश प्राधिकरणमा आएपछि शाक्य बुधबार कार्यालयमा हाजिर भएका हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ११ : ५२ बजे