Logo

राजनीति

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच औपचारिक वार्ता सुरु



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच सोमबार दिउँसो ३ बजे औपचारिक भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा भइरहेको वार्तामा प्रसाईं समूहले सरकारसमक्ष प्रस्तुत गरेका २७ बुँदे मागका मुख्य विषयमाथि छलफल भइरहेको छ ।

प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक अवस्थाबारे संवाद गर्न मंसिर २२ गतेका लागि समय तय गरिएको थियो । भेटमा प्रसाईंले सरकारले यसअघि आफूहरूले उठाएका मागप्रति गम्भीरता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

२७ बुँदे मागपत्रमा वर्तमान संविधान खारेज गरी नयाँ संविधान निर्माण, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, राजसंस्थाको पुनःस्थापना, हिन्दू राष्ट्र घोषणा तथा धर्मनिरपेक्षताको नीति परिवर्तनजस्ता विषय समेटिएका छन् । साथै, राष्ट्रियता संरक्षण, विदेशी प्रभाव नियन्त्रण, सार्वजनिक शान्ति–सुरक्षा मजबुत बनाउने र नागरिक स्वतन्त्रताको सुनिश्चितता गर्ने माग पनि राखिएको छ ।

यी माग गत मंसिर ६ गते गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष बुझाइएको थियो । तर, सरकार पक्षले यस्ता राजनीतिक तथा संवैधानिक विषय चुनावी प्रक्रियामार्फत मात्र समाधान गर्न सकिने धारणा राखेको थियो ।

सरकारले ती माग तत्काल सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी प्रसाईं समूहले यसअघि नै दिएको छ । आजको वार्ताले पछिल्लो समय देखिएको राजनीतिक तनावको वातावरणमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : ०४ बजे