काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११औँ महाधिवेशनमा सामूहिक नेतृत्व प्रणाली स्थापित गर्न नेतृत्व परिवर्तन आवश्यक भएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीलाई “नेताप्रधान” होइन “नीतिप्रधान” बनाउन नयाँ नेतृत्व अनिवार्य रहेको भन्दै ईश्वर पोखरेललाई अध्यक्षका रूपमा अघि बढाइने स्पष्ट पारे।
ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीमाथि एकलकाटे प्रवृत्ति देखाएको आरोप लगाउँदै आलोचनालाई स्वीकार नगर्ने गैर–मार्क्सवादी चिन्तन हाबी भएको टिप्पणी गरे। उनका अनुसार पार्टीको दस्तावेजमा सामूहिक नेतृत्व र नीतिप्रधान व्यवस्थाको व्यवस्था भए पनि व्यवहारमा त्यो लागू नभएको भन्दै अब त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न नेतृत्व परिवर्तन आवश्यक भएको हो।
“सामूहिक नेतृत्वबिनाको लोकतन्त्र टिकाउ र सफल हुँदैन,” उनले भने, “नीति प्रधान हुनुपर्छ, नेता नीतिको अधीनमा रहनुपर्छ।”
उनले लोकतन्त्रमा आलोचना र आत्माआलोचना अनिवार्य हुने उल्लेख गर्दै पार्टीभित्र आलोचनाको संस्कार कमजोर हुँदै गएकोसमेत बताए। कमजोरी स्वीकार नगर्ने प्रवृत्तिका कारण पार्टीको सिद्धान्त व्यवहारमा लागू हुन नसकेको उनको निष्कर्ष छ।
एमालेको आउँदो ११औँ महाधिवेशनमा यही आधारमा नेतृत्व परिवर्तनको अभियानलाई तीव्र बनाइने उनले जानकारी दिए।










प्रतिक्रिया