काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनको मिति सार्ने कुनै पनि प्रयास मुलुकलाई अनिश्चित दिशातर्फ धकेल्ने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (नाफिज)को १६औँ वार्षिक साधारणसभामा उनले लोकतन्त्रलाई संस्थागत गर्न समयमै निर्वाचन अपरिहार्य रहेको बताए।
अर्थमन्त्री खनालका अनुसार वर्तमान सरकारले पूरा गर्नुपर्ने तीन प्रमुख दायित्वमध्ये निर्वाचन प्रमुख हो। निर्वाचन स्थगित गर्ने प्रवृत्तिले युवामा निराशा बढाउने र मुलुकमा राजनीतिक अनिश्चितता थप गहिरिने बताउँदै उनले समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।
उनले देशलाई ‘परिवर्तनको संघार’मा रहेको टिप्पणी गर्दै परिवर्तनका तरंगहरू अझै बाँकी रहेको बताए। जेनजी आन्दोलन आर्थिक समृद्धिका लागि होइन, भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको भन्दै उनले उक्त आन्दोलनका मूल मागहरू अझै सम्बोधन हुनुपर्नेमा जोड दिए।
खनालले जेनजी आन्दोलनपछि सरकार परिवर्तन भएको स्मरण गर्दै नयाँ सरकारको दायित्व संविधानबमोजिम निर्धारित समयमा निर्वाचन सम्पन्न गर्नु नै रहेको उल्लेख गरे।










प्रतिक्रिया