Logo

अर्थ

तिला नदीमा ३८.०७ मेगावाटको जलविद्युत् आयोजना, लागत ७ अर्ब ५६ करोड


१९ मंसिर २०८२, शुक्रबार  

0
Shares

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा ३८.०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको अनुमानित लागत ७ अर्ब ५६ करोड ७४ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

प्रभावित क्षेत्र समेटेर गरिएको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनमाथिको सार्वजनिक सुनुवाइमा आयोजनाका परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टले उक्त जानकारी दिएका हुन् । उनका अनुसार आयोजनाको ‘डिजाइन डिस्चार्ज’ ५२.५१ घनमिटर प्रतिसेकेन्ड रहेको छ । आयोजनाको सम्भाव्यता अध्ययन चार वर्षअघि नै सम्पन्न भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले २०७८ सालमा यस आयोजनाको नापजाँच स्वीकृत गरिसकेको विभागका उपसचिव गोपीप्रसाद शाहले बताए । उनका अनुसार तिला नदीमा ७ मिटर अग्लो बाँध निर्माण गरी साइड इन्टेकमार्फत पानी ग्राभेल ट्र्याप हुँदै २८९ मिटर लामो स्टिल पेनस्टक पाइपबाट अर्धसतही विद्युत्गृहमा पुर्‍याइनेछ । उक्त विद्युत्गृहको आयाम ३६ मिटर लम्बाइ, १६ मिटर चौडाइ र ३२ मिटर गहिराइ हुनेछ ।

उत्पादन भएको विद्युत् १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारको सबस्टेसनमा जोडिनेछ । निष्कासन भएको पानी २५ मिटर लामो टेलरेस टनेल हुँदै पुनः तिला नदीमै छोडिने छ । आयोजनाका सबै संरचना नदीको बायाँ किनारमा रहनेछन् ।

आयोजना निर्माणका लागि कुल ७.५८५ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा ४.७७२ हेक्टर वन क्षेत्र र २.८१३ हेक्टर निजी जग्गा पर्नेछ । आयोजनाबाट ३४ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ ।

निर्माण अवधिमा ३० देखि ३२० जनासम्म स्थानीयलाई रोजगारी उपलब्ध गराइने र स्थानीयलाई प्राथमिकता दिइने तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिए । आयोजनाबाट प्राप्त रोयल्टी, रोजगारी र व्यापार–व्यवसायका कारण स्थानीय तथा राष्ट्रिय स्तरमा आर्थिक लाभ हुने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : ५२ बजे