Logo

खेलकुद

सुदूरपश्चिम शीर्षमा, विराटनगर प्लेअफमा – चितवनमाथि ४९ रनको जित



काठमाडौं । सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलसँगै विराटनगर किंग्सले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ।

१७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमै १२० रनमा समेटियो । चितवनका रवि बोपाराले सर्वाधिक २९ रन बनाए । देव खनालले २८, कप्तान कुशल मल्लले १५ र अर्जुन साउदले १६ रन जोडे । जर्ज स्क्रिमस गोल्डेन डक भए । सुदूरपश्चिमका पुनित महराले २.१ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । क्रिस लिनले ५६ बलमा ५ चौका र ३ छक्कासहित ७५ रन बनाएर टोलीलाई बलियो आधार दिए । उनी १७औँ ओभरपछि ‘रिटायर्ड हर्ट’ भए । लिन र आरिफ सेखबीच पाँचौँ विकेटका लागि ४५ रनको साझेदारी भएको थियो । आरिफले १६ बलमा २६ रन अविजित जोडे । विनोद भण्डारीले २१ र दीपेन्द्रसिंह ऐरीले अविजित २४ रन बनाए । चितवनका सैफ जैबले २ तथा जर्ज स्क्रिमस र रञ्जित कुमारले १–१ विकेट लिए ।

यो नतिजासँगै सुदूरपश्चिम ६ खेलबाट १२ अंक जोड्दै लिग चरणको शीर्षमा रह्यो र पहिलो क्वालिफायर खेल्ने भयो । विराटनगरले ६ खेलबाट ८ अंकसहित प्लेअफमा स्थान बनायो । यसअघि काठमाण्डू गोर्खाज प्लेअफमा पुगिसकेको छ । बाँकी एउटा स्थानका लागि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतिस्पर्धामा छन् । कर्णाली याक्स प्रतियोगिताबाट बाहिरिएको छ ।

यसै दिनको पहिलो खेलमा काठमाण्डू गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ७ : ५४ बजे