Logo

राजनीति

देउवा भन्छन्– १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस २६–२८ गते निर्धारित १५औँ महाधिवेशन सौहार्दपूर्ण वातावरणमा तोकिएकै समयमा सम्पन्न गर्न पार्टीपंक्तिका सबै जिम्मेवार हुनुपर्ने बताएका छन्।

महाराजगञ्जस्थित निवासमा बिहीबार नियमित महाधिवेशन पक्षधर युवा नेताहरूसँगको भेटमा देउवाले महाधिवेशन सफल बनाउन युवाको सक्रिय र जिम्मेवार भूमिका अनिवार्य रहेको बताए। उनले पार्टी नियमित महाधिवेशन प्रक्रियामा अघि बढिसकेकाले विशेष महाधिवेशनको चर्चा असान्दर्भिक भएको समेत स्पष्ट पारे।

“नियमित महाधिवेशनतर्फ पार्टी अघि बढेको अवस्थामा अझै विशेष महाधिवेशनको बहस गर्नु उचित हुँदैन,” देउवाको भनाइ उद्धृत गर्दै युवा नेता सरोज थापाले बताए।

भेटमा सहभागी युवा तथा नेताहरूले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न, वडादेखि केन्द्रसम्म पार्टी पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रिया अघि बढाउन तथा महाधिवेशनमा युवाको उल्लेखनीय सहभागिता सुनिश्चित गर्न सभापतिको ध्यानाकर्षण गराएका थिए। साथै, आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा स्वच्छ छवि र आर्थिक पारदर्शिता भएका युवा तथा नवयुवालाई नयाँ अनुहारका रूपमा अघि सार्न माग गरिएको छ।

भेटमा कांग्रेस बागलुङका सभापति जीत शेरचन, नेविसंघका पूर्वउपाध्यक्ष पुष्प शाही, पूर्वमहामन्त्री सरोजकुमार थापा, पूर्वकेन्द्रीय सदस्य थलकुमार लिङ्खा, केन्द्रीय सदस्य मनिषजंग थापा, गीता गुरूङ, तरुण दलका केन्द्रीय सदस्य तीर्थ गौतम, इन्दु शर्मा, किसान नेता अन्जान लामा लगायत सहभागी थिए।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ३ : १८ बजे