Logo

समाचार

 ‘क्याराभान’का निर्देशक एरिकले सुनाए फिल्म निर्माणका अनुभव



काठमाडौं । चलचित्र ‘क्याराभान’का निर्देशक एवम प्रसिद्ध फ्रान्सेली फोटोग्राफर एरिक भ्यालीले नेपालमा बिताएका आफ्ना अनुभवहरुका बारेमा काठमाडौंमा अन्तरक्रिया गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनमा मंगलबार आयोजना गरिएको अन्तरक्रियामा उनले आफ्ना अनुभवहरु साटेका थिए ।

कार्यक्रममा बोल्दै उनले आफूले सधैं अरूले नचालेका मार्गहरू रोज्दै आएको बताए । कार्यक्रममा उनले सेन्ट्रल डिपार्टमेन्ट अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन र सेन्ट्रल डिपार्टमेन्ट अफ इंग्लिसका फोटोग्राफर, अध्येता तथा एमफिल–पीएचडी विद्यार्थीहरूलाई सम्बोधन गर्दै क्याराभान फिल्म तथा त्यससँग सम्बन्धित अनुभवहरूको कथा सुनाएका थिए ।

साढे तीन घण्टाभन्दा बढी चलेको सत्रलाई पत्रकारिता विभागका सहायक प्राध्यापक डा. ऋषिकेश दाहालले संयोजन गरेका थिए । कार्यक्रममा भ्यालीले नेपालमा बिताएका प्रारम्भिक दिनहरू, यहाँका प्राकृतिक सौन्दर्य तथा अरुण उपत्यका र डोल्पो क्षेत्रमा खिचिएका आफ्ना प्रसिद्ध फोटोग्राफहरूको पृष्ठभूमिबारे चर्चा गरे । सहभागीहरूले प्रश्न–उत्तर सत्रमा उत्साहपूर्वक सहभागी हुँदै भ्यालीका अनुभव र दृष्टिकोणबारे बुझ्ने अवसर पाएका छन् ।

२०५६ सालमा बनेको ‘क्याराभान’ ओस्करमा पुग्ने पहिलो नेपाली फिल्म हो । हिमाली जिल्ला डोल्पाको जनजीवन तथा रहनसहन देखाइएको छ ।

फिल्म ओस्करको ७२औँ संस्करणमा सूचीकृत भएको थियो । भ्यालीको यो चलचित्रले डोल्पा जिल्ला मात्रै होइन मानव विकासको पुछारमा रहेको सिंगो कर्णालीको कथा बोलेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  १२ : ०३ बजे