Logo

समाचार

श्रम संस्कृति पार्टीले कुनै दलसँग गठबन्धन नगर्ने घोषणा



धरान— श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले आगामी चुनावमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन्।

सुनसरीको बराहक्षेत्रस्थित चक्रघट्टीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताए। “हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,” उनले भने।

उनले वर्तमान दलहरू जनउत्तरदायी र पारदर्शी नभएको टिप्पणी गरे। जाति, धर्म र वर्गका आधारमा विभाजित भएको देशलाई एकताबद्ध गर्ने र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृति विकास गर्नु नै पार्टीको मुख्य एजेन्डा रहेको साम्पाङको भनाइ थियो।

उनका अनुसार पार्टीले देशभर संगठन विस्तारलाई तीव्र बनाएको छ र जनसमर्थन बढ्दै गएको दाबी गरे। साम्पाङले श्रम संस्कृति पार्टीलाई आगामी निर्वाचनमा राष्ट्रिय वैकल्पिक शक्ति रूपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढाइएको बताए।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ८ : ३६ बजे