काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गर्न नसकेसम्म मुलुकमा सुशासन र समृद्धि सम्भव नहुने बताएका छन्।
बुधबार (मंसिर १७) उज्यालो नेपाल पार्टीको घोषणासभालाई सम्बोधन गर्दै घिसिङले आगामी २१ फागुनपछि बन्ने सरकारबारे आम नागरिकमा गहिरो चासो रहेको उल्लेख गरे। सोही चिन्ता र चाहनाको परिणामस्वरूप उज्यालो नेपाल पार्टी नयाँ वैकल्पिक शक्तिका रूपमा स्थापना भएको उनले दाबी गरे।
उनले परिवर्तनको नेतृत्व पुराना प्रवृत्तिबाट नभई नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमुदायले गर्नुपर्ने बताए। परिवर्तन सफल बनाउन वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनु अपरिहार्य भएको उनको भनाइ थियो। वैकल्पिक शक्तिहरू टुक्राटुक्रा भएर नतिजामुखी परिवर्तन सम्भव नहुने उनले स्पष्ट पारे।
घिसिङले अवसर आउँदा पनि पछि हट्ने प्रवृत्तिले देशको विकास अवरुद्ध भइरहेको उल्लेख गरे। देशभित्र तथा विदेशमा रहेका सबै नेपालीले समृद्धिका लागि साझा प्रयास गर्नुपर्ने उनको आग्रह थियो। एक–दुई जनाको प्रयासले नभई सामूहिक एकताबाट मात्र परिवर्तन सम्भव हुने उनले बताए।
उनका अनुसार नेपालको समृद्धिको मुख्य आधार सुशासन र भ्रष्टाचारमुक्त व्यवस्था हो। युवापुस्तासहित सबै सचेत नागरिक अघि नबढे देश परिवर्तन सम्भव नहुने घिसिङको ठहर छ।










प्रतिक्रिया