Logo

अर्थ

४७ अंक बढयो नेप्से, कारोबार रकममा पनि वृद्धि



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ४७.२२ अंक बढेर २६४७.४४ विन्दुमा पुगेको छ । आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा यसदिन कुल ३३० स्टकको ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर कारोबार भएको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ७.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८१ अंक बढेको छ । यस दिन झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक एन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, यस दिन सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ८ प्रतिशत बढेको छ । कारोबारमा आएको माबिलुङ्ग इनर्जीको शेयरमूल्य यस दिन सबैभन्दा बढी ४.४४ प्रतिशत घटेको छ । यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ०० बजे