Logo

अर्थ

भाटभटेनीका १२ शाखा नष्ट : ‘हिम्मत नहारी अघि बढ्छु’ : मीनबहादुर गुरुङ



काठमाडौँ — राष्ट्रिय कर दिवस (मंसिर १) का अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताका रूपमा सम्मानित व्यवसायी मीनबहादुर गुरुङले जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ शाखा पूर्ण रूपमा नष्ट भएको र अन्य धेरैमा ठूलो क्षति पुगेको बताएका छन्।

कार्यक्रममा बोल्दै गुरुङले भदौ २३ र २४ गतेकाे आन्दोलनले व्यापारिक क्षेत्र गम्भीर रूपमा प्रभावित पारेको बताए। दसैँ, तिहार र छठका लागि थुपारिएको ठूलो परिमाणको सामान आन्दोलनका क्रममा लुटपाट र आगजनीबाट नष्ट भएको उनले बताए।

ठूलो क्षति भए पनि आफू हिम्मत नहारी व्यवसाय निरन्तरतर्फ अघि बढ्ने बताएका गुरुङले बैंकको लगानी, हजारौँ कर्मचारीको रोजगारी र सामाजिक जिम्मेवारीका कारण व्यवसाय चलाउनु अपरिहार्य रहेको उल्लेख गरे। आन्दोलन दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।

भाटभटेनीमाथिको आक्रमणलाई राजनीतिक दलका भवन निर्माण सहयोगसँग जोडेर हल्ला फैलाइएको दाबी गर्दै गुरुङले कर तिरेपछि कसलाई सहयोग गर्ने भन्ने कुरा व्यक्तिगत अधिकार भएको बताए। उनले डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पताल, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस अध्ययनमा पुर्याइएको सहयोग, टिचिङ अस्पतालमा उपलब्ध गराइएको सहयोगलगायत सामाजिक कामका तथ्यहरू सार्वजनिक गरे।

गुरुङकाे भनाइमा, देशमा विपन्नता र गैरजिम्मेवारीकै कारण आन्दोलन दोहोरिन गर्ने अवस्था बन्ने गरेको छ र सबै क्षेत्र गम्भीर भएर अघि बढे मात्र स्थिरता सम्भव छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : ०२ बजे