काठमाडौं । आज र भोली दुईदिन शेयर बजार बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज र भोलि गरी दुईदिन शेयरबजार पनि बन्द हुने भएको हो ।
दशैंको लामो बिदापछि आजदेखि नियमित कारोबार सुरु हुने अपेक्षा गरिएको शेयरबजार, मौसमजन्य विषम परिस्थितीका कारण पुनः बन्द भएको हो ।
सरकारले देशभर प्रभाव पारेको अविरल वर्षालाई ध्यानमा राख्दै वित्तीय संस्था, सरकारी कार्यालय र शैक्षिक संस्था समेत दुईदिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
यसअघि लगानीकर्ताले दशैंपछिको कारोबारमा बजार सक्रिय हुने र कारोबारको मात्रा वृद्धि हुने अपेक्षा गरेका थिए । तर लगातारको अवरोधका कारण लगानीकर्तामा अनिश्चितता बढेको छ ।
यद्यपी, विज्ञहरुले भने छोटो अवधिका लागि कारोबार रोकिनुले बजारमा ठूलो नकारात्मक असर नपर्ने बताउँदै आएका छन् ।
तर लगानीकर्ताको मनोबल भने प्रभावित भएको छ । लगातार बिदा र अस्थिर मौसमका कारण बजार खुल्नेबित्तिकै कारोबारमा सुरुवाती दिनमा उतारचढाव देखिने सम्भावना रहेको उनीहरूको आँकलन छ ।
प्रतिक्रिया