Logo

Breaking News 1

पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध



हेटौंडा । लगातारको वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक ठूलो पहिरो खस्दा कुलेखानी–फाखेल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार रातिबाट परिरहेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक पूर्ण अवरुद्ध भएपछि यातायात सम्पूर्णरूपमा प्रभावित भएको हो ।

मकवानपुर प्रहरीले अवरोध हटाउने प्रयास भइरहेको जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक तथा मकवानपुर प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार काठमाडौं हिँडेका सवारी साधनलाई कलङ्की र सिमखोला आसपासका क्षेत्रमा रोकिएको छ ।

यात्रुहरूलाई तत्काल वैकल्पिक व्यवस्था नभएको र सडक खुलेपछि मात्र गन्तव्यतर्फ पठाइने उनले जानकारी दिए । यता, मकवानपुर प्रशासनले यात्रुको सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप कडाइका साथ निर्णय गरेको छ ।

प्रशासनले आजदेखि तीन दिनसम्म (शनिबार, आइतबार र सोमबार) मकवानपुरका राजमार्ग हुँदै काठमाडौं जाने अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको छ । प्रशासनका अनुसार लगातारको वर्षा जारी रहेकाले अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम उच्च रहेको छ ।

सडक अवरुद्ध भएपछि स्थानीयवासी तथा यात्रुहरू मारमा परेका छन्। यातायात बन्द हुँदा दैनिक जीवन प्रभावित भएको छ भने आपूर्ति व्यवस्थामा समेत असर पर्न सक्ने देखिएको छ । अधिकारीहरूले मौसम सुधार भएसँगै पहिरो हटाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ४ : ४८ बजे