Logo

Breaking News 1

राम्रो आम्दानी हुने भएपछि कागती खेतीमा आकर्षण


१६ आश्विन २०८२, बिहिबार  

0
Shares

रामेछाप । राम्रो आम्दानी हुन लागेपछि रामेछापका कृषकहरू कागती खेती तर्फ आकर्षित भएका छन् । अमिलो जातको फल कागतीको बजारमा उच्च माग र राम्रो मूल्य भएपछि किसानहरू त्यस तर्फ आकर्षित भएका हुन् ।

एक पटक लगाएपछि वर्षौँसम्म फल दिने र बजारको राम्रो सम्भावना भएपछि अन्य फलफूल र खेती भन्दा कागतीको खेती राम्रो भएको मन्थली नगरपालिका–५ सुनारपानीका भरत कार्की बताउँछन् । जङ्गली जनावरले दुःख पनि नदिने, एक पटक लगाएपछि सामान्य गोडमेल र मल दिँदा हुने भएकोले कागती खेती लगाएको उनले बताए ।

बाँदरले दुःख दिएर अन्य बाली लगाएर खान नदिने जमिनमा समेत कागतीको राम्रो खेती गर्न सकिने कार्कीले बताए । कागतीको बोटमा काँडा हुने र यसको फल पनि अमिलो हुने भएको बाँदरले नचलाउने उनले जानकारी दिए ।

भरतले आफ्नो २० रोपनी बारीमा एक हजार बोट कागती लगाएका छन् । धेरै पानी पनि आवश्यक नपर्ने भिरालो जमिनमा समेत लगाउन सकिने कागती खेतीबाट वार्षिक ६ लाख रुपैँया बढी आम्दानी हुने उनले बताए ।

सिजनको बेलामा पनि कागती एक सय रुपैँया किलोमा बिक्री हुने उनले बताए । राम्रो भाउ आउँदा २ सय ५० रुपैँया किलोमा सम्म कागती बिक्री हुने उनले जानकारी दिए ।

‘यो टिप्ने बित्तिकै अन्य फलफूल, तरकारी जस्तो बिग्रिँदैन, बजारमा बिक्री भएन भने पनि, रस, अमिलो बनाएर वा अचार बनाएर पनि बिक्री गर्न सकिन्छ, त्यसमाथि यसको बजारमा साँधैभरि माग हुन्छ’, कार्कीले भने ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ९ : ०९ बजे