बाजुरा । बाजुराका किसान यतिवेला धानबाली भित्र्याउनमा व्यस्त रहेका छन् । यहाँका किसानलाई दशैँभन्दा कामको चटारो बढेको हो । असारको महिना लगाएको धानबाली यतिवेला धमाधम काट्ने,चुट्ने काम चलिरहेको छ । यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दसैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दसैं भन्दा अन्नवाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यतिवेला पनि बालीनालीमै व्यस्त छन् ।
यहाँको त्रिवेणी,बुढिगङ्गा,खप्तड छेडेदह,गौमुल,बडीमालिका,बुढिनन्दा,स्वामाकार्तिक,हिमाली जगन्नाथका किसानलाई यतिवेला धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने,चुट्ने कामको भ्याईनभ्याई छ । गाउँगाउँका खेतबारीमा निकै चहलपहल छाएको छ भने यहाँका मानिस बिहानै राति अवेरसम्म खेतमै कामकाजमा जुटेका देखिन्छन् ।
यतिवेला दसैं तिहार भन्दा पनि काम प्यारो बनेको बडीमालिका नगरपालिका वडा नम्वर ७ का स्थानीय शुभराज तिमिल्सेनाले बताए । खेतमा पाकेको धानबाली,कोदो, लगायत झुमरो, चिनो र फापर काट्ने, सुकाउने काम दैनिकी बनेको तिमिल्सेनाले बताएका छन् ।
अन्नबाली घर भित्र्याउनुपर्ने चटारोले बिहानै खेतमा पुगे पछि राती अवेरसम्म खेतमै काम गर्नुपर्ने बाध्यता रहेको तिमिल्सेनाको भनाइ छ । मौसम बिग्रिएपछि वर्षभरको मेहनत खेर जाने हुँदा समयमै किसानहरु बाली भित्र्याउने काममा लाग्ने गरेको बताए । बारीमा झुरीमुरी पाकेको धान भित्र्याउन किसानलाई चटारो छ । ९ वटै स्थानीय तहका हरेक गाउँबस्तीका खेतबारीमा,महिला,पुरूष,बालबालीका बिहान दिउँसो बारीमै व्यस्त हुने गरेका छन् । महिलाहरुलाई धान काट्न चटारो छ भने पुरुषलाई काटेको धानलाई चुटेर घरमा भित्र्याउने चटारो छ ।
जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकं रहेको छ । त्यस्तै कुल खेति गरिएको जमिन २६१६ हेक्टर छ । कुल खेती गरिएको क्षेत्रफलको २७.३५ मा धान खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए ।
बाजुरामा आर्थिक बर्ष २०८०÷०८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक बर्ष २०८१÷०८२ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो यस बर्ष पनि राम्रो धान उत्पादन हुने अपेक्षा लगिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
पछिल्लो समय बाजुरामा पनि उन्नत जातका धान लगाउने प्रचलन बढेको छ । विशेषगरी रामधान,जुम्ली, सावित्री, हिमाली धान,खुमल जस्ता उन्नत धान लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया