वर्षमा चारवटा दशैं पर्छन्–आषाढ शुक्ल, माघ शुक्ल, चैत्र शुक्ल र आश्विन शुक्ल । हाल मनाइने ठूलो दशैं भने आश्विन शुक्लको बडादशैं हो ।
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्वको पर्व विजया दशमी, जसलाई प्रचलित रूपमा बडा दशैं भनिन्छ । शक्ति, सत्य र सांस्कृतिक एकताको प्रतिकको रूपमा वर्षेनी विशेष श्रद्धा र उल्लासका साथ मनाइन्छ । गुरु रविन्द्र आचार्यका अनुसार, विजया दशमी केवल एक धार्मिक पर्व मात्र नभई, देवी शक्तिको आराधना, सत्यको विजय र सामाजिक सद्भावको उत्सव हो ।
शक्तिको आराधना : नौ दिनको नवरात्रि
वेदशास्त्रअनुसार, वर्षमा चारवटा नवरात्रिहरूको वर्णन पाइन्छ, जसमा विशेषतः वसन्त नवरात्रि र शारदीय नवरात्रिलाई विशेष महत्व दिइएको छ । शारदीय नवरात्रि अन्तर्गत मनाइने बडादशैंमा नवदुर्गाको नौं दिनसम्म पूजा आराधना गरिन्छ । घटस्थापनाबाट सुरु हुने यो अनुष्ठान, हरेक दिन पृथक दुर्गा स्वरूपको पूजा गर्दै दशौँ दिनमा विजया दशमीको रूपमा समापन गरिन्छ । वेदगुरु रविन्द्र आचार्यका अनुसार, देवी दुर्गाले नवौं दिनसम्म महिषासुरलगायतका आसुरी शक्तिहरूसँग युद्ध गरी दशौँ दिनमा उनीहरूको संहार गर्नुभयो । त्यसैको सम्झनामा, सत्यको विजयको रूपमा यो दिनलाई ‘विजया दशमी’ भनिएको हो ।
दशमी : सत्यको विजय र टीका प्रसाद ग्रहण
विजया दशमीको दिन असत्यमाथि सत्यको विजय भएको विश्वासमा, आफ्ना मान्यजनहरूसँग टीका र जमरा ग्रहण गर्ने चलन छ । पूजामा प्रयोग गरिएको जमरा—जसलाई घटस्थापनाका दिन यव (जौं) रोपेर उमारिएको हुन्छ जसलाई देवीको प्रसादस्वरूप मानिन्छ । ‘जमरा भनेको प्रकृति र कृषिसँग प्रत्यक्ष सम्बन्धित छ,’ वेदगुरु आचार्य स्पष्ट पार्छन्, ‘जौलाई भगवान भोलेनाथको प्रतिक मानिन्छ भने यसलाई घरमा अत्यन्तै पवित्र, गुप्त स्थानमा उमारिन्छ । त्यसैले यो जमरा ग्रहण गर्नु भनेको भगवतीको प्रत्यक्ष कृपा प्राप्त गर्नु हो ।’
टीका र जमराको सांस्कृतिक महत्व
विजया दशमीको दिन, मान्यजनका हातबाट टीका र जमरा ग्रहण गरी जीवनमा आरोग्यता, समृद्धि, विद्या र यशको कामना गरिन्छ । समाजमा सम्मान र एकताको सन्देश फैलाउने यो परम्परा, पितामातादेखि अग्रज, गुरुजन र घरका वृद्ध सदस्यहरूसम्मको आशीर्वाद ग्रहण गर्ने अनुपम अवसर हो । राजा, राष्ट्रप्रमुखजस्ता व्यक्तित्वहरूले चाहिँ विशेष साइत अनुसार टीका ग्रहण गर्ने चलन रहिआएको छ । तर सर्वसाधारणका लागि भने दिनभरि जुनसुकै समयमा पनि टिका लगाउने परम्परा रहिआएको वेदगुरुले स्पष्ट पार्छन् ।
देवी–देवताहरूको संयुक्त उपासना
विजया दशमीको पूजामा शिव–शक्तिको संयुक्त आराधना गरिन्छ । ‘जहाँ शिव हुन्छन्, त्यहाँ शिवा पनि हुनुहुन्छ,! वेदगुरु भन्छन्, ‘शिवा पराअम्बा, भुवनेश्वरी, दुर्गा, शैलपुत्री लगायतका नौ दुर्गा स्वरूपमा पूजनीय हुनुहुन्छ ।’ यही कारण, नौ दिनसम्म पृथक–पृथक दुर्गा स्वरूपहरूको पूजा गरी दशौँ दिनमा भगवतीको महाप्रसाद ग्रहण गरिन्छ ।
कृषि संस्कृतिसँग जोडिएको पर्व
दशैं, नेपाली समाजमा केवल धार्मिक पर्व नभई कृषिसँग पनि गहिरो सम्बन्ध राख्दछ । यव रोपण, जमरा उमार्ने परम्परा, अन्नको संरक्षण र दैवी शक्तिको कृपाका लागि प्रार्थनासमेत यस पर्वमा समेटिएको हुन्छ । ‘हाम्रो देश कृषि प्रधान छ । दशैं पर्वले त्यसै कृषिलाई पनि सम्मान गर्छ,’ वेदगुरुले थपे । विजया दशमी केवल असुरमाथि विजयको उत्सव नभई, सत्य, सदाचार, सद्भाव र एकताको सन्देश दिने हिन्दू धर्मको एक महान पर्व हो । यस दिन, हामीले शक्ति स्वरूपा भगवतीको आराधना गर्दै, मान्यजनहरूबाट टिका–जमरा ग्रहण गरेर आत्मबल, सद्बुद्धि, र सकारात्मक ऊर्जाको सञ्चार गर्ने परम्परा निरन्तरता दिँदै आएका छौं । वेदगुरु रविन्द्र आचार्यले दुष्टलाई दमन गर्न भगवती पराअम्बिकाले जुन प्रयास गरिन् र लड्दै–लड्दै गएर नौ दिनमा दमन गरेर दशौँ दिनका दिनमा खुशीयाली गर्दै सारा लोकलाई आसुरिय शक्तिबाट मुक्त गराएको दिनमा दशैं मनाइन्छ । दशैंको दिन नौवटी दुर्गा देवीहरूको पूजा भइसकेपश्चात त्यसलाई महाप्रसादको रूपमा हामीले ग्रहण गर्ने गर्दछौं ।’
यसै सन्दर्भमा गुरु नारायण प्रसाद आचार्यले भने, ‘दशैं हाम्रो घर–आँगनमा बडो रमाइलोसँग आइपुग्छ । उने भने,‘बाटो सफा गर्ने, मिलमा चिउरा कुट्न जाने, साथीभाइसँग आनन्दपूर्वक रमाइलो गर्ने चलन हुन्थ्यो । अहिले परिवेश अलि फरक भएपनि दशैं आउँदा बजार र समाज उस्तै उल्लासमय हुन्छ ।’
उनका अनुसार दशैं भनेको नवदुर्गा भगवतीको आराधनाको क्रम हो । उनले भने, ‘वर्षमा चारवटा दशैं पर्छन्–आषाढ शुक्ल, माघ शुक्ल, चैत्र शुक्ल र आश्विन शुक्ल । अहिले हामीले मनाउने ठूलो दशैं भने आश्विन शुक्लको बडादशैं हो ।’
चैत्र र असोज महिनामा बढी दुर्गा आराधना हुने उनको भनाइ छ । उने भने ‘यो समयमा रोग व्याधि र दुर्घटनाहरु बढ्ने भएकाले देवीको पूजा गरेर ती संकट टारिन्छ भन्ने विश्वास छ ।’
दशमीलाई उनले पूर्ण तिथि भएको स्पष्ट पार्दै थपे, ‘नवरात्र पूरा भएपछि दशौँ दिन पूर्ण मानिन्छ । जब भगवान् रामले रावणलाई हराउन भगवतीको आराधना गर्नुभयो, नवौँ दिनमा देवी प्रकट भइ शक्ति दिनुभयो । त्यसपछि रामले विजय प्राप्त गर्नुभयो । उने भने यही कारण दशमीलाई ‘विजया दशमी’ भनिन्छ ।’ गुरु आचार्यका अनुसार, दशैं केवल पूजा मात्र नभई परिवारसँगको मिलन, समाजमा खुसी बाँड्ने अवसर र असत्यमाथि सत्यको विजयको प्रतिक हो ।
प्रतिक्रिया