Logo

Breaking News 1

रौतहटमा निषेधाज्ञा र कफ्र्युलाई शनिबार पनि निरन्तरता



रौतहट । रौतहटमा जेन–जी आन्दोलनको क्रममा उत्पन्न परिस्थिति क्रमशः सामान्यतर्फ फर्किएको छ । तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार पनि निषेधाज्ञा र कफ्र्युलाई निरन्तरता दिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क र ख बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) बिनोद कुमार खड्काले कफ्र्यू तथा निषेधाज्ञा आदेश जारी गरेका हुन् । स्थानीय प्रशासनले जारी गरेको आदेशमा शनिबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू हुने र त्यसपछि शनिबार साँझ ७ बजे देखि आईतवार बिहान ६ बजेसम्म कफ्र्यु कायम रहने उल्लेख छ । निषेधाज्ञा र कफ्र्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न निषेध गरिएको छ ।

साथै पाँच जनाभन्दा बढी भेला हुन पनि नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । प्रशासनको सूचनामा उल्लेख भएअनुसार अत्यावश्यक सेवामा पर्ने एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै औषधि, खाद्यान्न, इन्धन, दूध, तरकारी तथा पानी ढुवानी गर्ने सवारी साधन भने सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले परिचयपत्र देखाई कार्यालयसम्म आउन–जान पाउनेछन् ।प्रशासनले शान्ति–सुव्यवस्था कायम गर्न सबैलाई कफ्र्यु आदेश पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १२ : २५ बजे