Logo

मुख्य समाचार

हेल्प नेपाल बालगृहले सार्वजनिक ग¥यो सामाजिक लेखा परीक्षण, कक्षा १२ उत्तीर्ण सिताको गरियो विदाइ



काठमाडौं । हेल्प नेपाल नेटवर्कद्वारा सञ्चालित धुलिखेलस्थित हेल्प नेपाल बालगृहले आर्थिक वर्ष २०८१÷८२ को सामाजिक लेखा परीक्षण सार्वजनिक गरेको छ ।

शुक्रबार आयोजित एक विशेष कार्यक्रममार्फत लेखा परीक्षण प्रस्तुत गर्नुका साथै बालगृहमा आवासीय रूपमा कक्षा १२ सम्म अध्ययन पूरा गरेकी विद्यार्थी सिता सिंह ठकुरीलाई सम्मानपूर्वक बिदाइ गरिएको हो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष महेन्द्र विक्रम शाहले संस्थाको उद्देश्य र यसको सामाजिक प्रभावमाथि प्रकाश पारे ।

उनले भने, ‘धुलिखेल नगरपालिकामा अवस्थित हेल्प नेपाल बालगृहले प्रस्तुत गरेको २०८१÷८२ को सामाजिक लेखा परीक्षण पारदर्शिता र उत्तरदायित्वतर्फ गरिएको महत्वपूर्ण कदम हो ।’

उनले थपे, ‘२०५६ सालमा काठमाडौंमा स्थापना भएको हेल्प नेपाल नेटवर्क नेपालीहरूको साझा संस्था हो । यसले विदेशमा रहेका नेपालीहरूलाई नेपालका दुर्गम जिल्लामा शिक्षा, स्वास्थ्य र आपतकालीन राहतको क्षेत्रमा योगदान गर्न प्रेरित गर्दै आएको छ । २५ वर्षको यात्रामा संस्था समाजसेवाको एक प्रेरणादायी उदाहरण बन्न पुगेको छ ।’

बालगृहबाट बिदाइ भएकी सिता सिंह ठकुरीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा आफ्नो नौ वर्षे अनुभव साझा गरेकी छन् । उनले यो आफ्नो दोस्रो घरजस्तै बनिसकेको बताइन् ।

उनले भनिन्, ‘कक्षा ४ देखि बालगृहमा बसेँ । यो मेरो दोस्रो घरजस्तै बनिसकेको थियो । रमाइलो वातावरण, विभिन्न संस्कृतिको अनुभव, र सुरक्षित परिवेशमा उच्च शिक्षासम्मको अवसर पाउनु सौभाग्य हो । म पनि भविष्यमा जागिर पाएपछि सकेको सहयोग गर्नेछु ।’

बालगृहकी व्यवस्थापक पुण्यवती घले, जसलाई बालिकाहरू ‘आमा’ भनेर सम्बोधन गर्छन्, उनले संस्थाको सामाजिक सहभागिताको महत्त्व उल्लेख गर्दै भनिन्, ‘हेल्प नेपाल बालगृह सबै नेपालीहरूको साझा प्रयास हो । यसले बच्चाहरूलाई परिवारको माया र सुरक्षित आश्रय दिन्छ । समाजका सबै पक्षले यो संस्थाको गतिविधिमा चासो राखेर सहभागिता जनाउनु जरुरी छ ।’

हेल्प नेपाल नेटवर्कले कक्षा १२ सम्मको सम्पूर्ण शिक्षा, बसोबास, स्वास्थ्य सेवा तथा आधारभूत आवश्यकता पूरा गर्छ । त्यसपछि बालिकाहरूले आफूले रोजेको बाटो अँगाल्ने स्वतन्त्रता पाउँछन् । यस संस्थाले बालबालिकाको जीवनमा शिक्षा र अवसरका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउँदै आइरहेको छ ।

कार्यक्रमले लेखा पारदर्शिता र बालिकाहरूको समुचित व्यवस्थापनमा संस्थाको समर्पण झल्काएको छ । हेल्प नेपाल बालगृह देशभरका समाजसेवी संस्थाहरूका लागि उदाहरणीय प्रेरणा बन्न सफल भएको देखिन्छ ।

२५ वर्षअघि सुरु भएको सानो प्रयास आज समाजमा गहिरो छाप छाड्न सफल भएको छ । संस्थाले आजसम्म सयौं बालबालिकाको जीवनमा उज्यालो भरेको छ र निरन्तर यो संकल्पमा अडिग छ ।

सिता सिंहजस्ता युवतीहरू, जसले बाल्यकालको कठिनाइलाई पछाडि पारेर शिक्षा र आत्मनिर्भरताको बाटो रोजिरहेका छन्, उनीहरू नै संस्थाको सफलताको प्रमाण हुन् । संस्थाको पारदर्शिता, समर्पण र मानवीय सेवाको मूल्यले देशभरका समाजसेवीहरू, दाताहरू र स्वयंसेवकहरूलाई अझ प्रेरित गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  १ : १३ बजे