काठमाडौं । पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ ।
शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएकोे हो ।
भारी वर्षा र बादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए ।
पिडिएमएले जारी गरेको पछिल्लो विवरण अनुसार बुनेर जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाको मृत्यु भएको छ । जिल्ला उपायुक्त कासिफ कयुम खानको कार्यालयले १२० जना घाइते भएको र ५० जना अझै बेपत्ता रहेको जनाएको छ ।
पिडिएमएको रिपोर्टअनुसार अन्य जिल्लाहरूमा पनि ठूलो मानवीय क्षति भएको छ । शाङ्लामा ३७, मानसेहरामा २३, स्वातमा २२, बाजौरमा २१, बट्टाग्राममा १५ र लोअर दीरमा ५ जनाको मृत्यु भएको छ ।
क्षतिको भयावह अवस्थालाई मध्यनजर गर्दै खैबर पख्तुनख्वा सरकारले सबैभन्दा बढी प्रभावित जिल्लाहरू– बुनेर, बाजौर, स्वात, शाङ्ला, मानसेहरा, तोरघर, अपर तथा लोअर दीर र बट्टाग्राममा संकटकाल घोषणा गरेको छ ।
प्रतिक्रिया