Logo

Breaking News 1

इजरायली आक्रमणमा पाँचजना अलजजिरा पत्रकारको मृत्यु



काठमाडौं । गाजा सिटीको प्रमुख अस्पताल अल–शिफा नजिक इजरायली आक्रमणमा परेर पाँच अल–जजीरा पत्रकारको मृत्यु भएको छ । उक्त घटना बारे अल–जजीरा समाचार संस्थाले पुष्टि गरेको हो ।

मृत्यु हुनेमा संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैकेह, साथै क्यामराम्यान इब्राहिम जाहेर, मोहम्मद नौफल र मोअमेन अलिवा रहेका छन् । उनीहरू अस्पतालको मुख्य गेट नजिक पत्रकारहरूको लागि बनाइएको टेन्टमा रहेका बेला लक्षित आक्रमण भएको अल–जजीराले जनाएको छ ।

अल–जजीराले यस आक्रमणलाई ‘पत्रकारितामाथिको पूर्वनियोजित र स्पष्ट आक्रमण’ भन्दै कडा शब्दमा निन्दा गरेको छ ।
इजरायली रक्षा बलले आक्रमणपछिको टेलिग्राम पोस्टमा अनस अल–शरीफलाई हमासको एक आतङ्ककारी सेलको प्रमुख भएको आरोप लगाउँदै उनीमाथि लक्षित कारबाही गरिएको पुष्टि गरेको छ । अन्य पत्रकारहरूबारे भने कुनै टिप्पणी गरेको छैन ।

अल–जजीराको अनुसार, उक्त आक्रमणमा कूल सात जनाको मृत्यु भएको छ । सुरुमा संस्थाले चार पत्रकारको मृत्यु पुष्टि गरे पनि केही घण्टापछि मृतकको संख्या पाँच पुगेको जनाएको छ ।

गत महिना, अल–जजीरा, संयुक्त राष्ट्रसंघ, र पत्रकार सुरक्षा समितिले संयुक्त रूपमा अल–शरीफको सुरक्षाका लागि अपिल गरेका थिए ।

पत्रकार सुरक्षा समितिका अनुसार, अक्टोबर २०२३ मा इजरायली सैन्य कारबाही सुरु भएदेखि गाजा क्षेत्रमा हालसम्म कम्तीमा १८६ जना पत्रकारको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ७ : ५४ बजे