Logo

मुख्य समाचार

राजर्षि जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध गर्यो : बिमलेन्द्र निधि



जनकपुर । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका प्रतिनिधिहरुले अवरोध गरिरहेको आरोप लगाएका छन् ।

शनिबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले धनुषा क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित एमालेका प्रतिनिधि तथा नेताहरुले विश्वविद्यालयको भवन निर्माणमा अवरोध खडा गरिरहेको बताए ।

राजर्षि विश्वविद्यायल स्थापनको प्रयास भइरहेको समयमा केन्द्रिय एमालेका नेताहरुले अवरोध नगरोस भनेर धनुषाका एमालेका प्रतिनिधिहरुले कांग्रेसलाई समर्थन गर्न काठमान्डौ पुगेको नेता निधिले जानकारी दिए ।

उनले स्थापनाको समयमा धनुषाका एमालेका प्रतिनिधिहरुले सहयोग गरेको बताए । तर अब उल्टै एमालेका क्षेत्र नं.३ र ४ का प्रतिनिधिहरुलेनै अवरोध उत्पन्न गरेर विश्वविद्यालयको भवन निर्माण कार्यलाई रोक्ने प्रयास गरिरहेको नेता निधिले आरोप लगाएका छन् ।

धनुषाको नगराईन नगरपालिकामासमेत एमालेका नेता तथा प्रतिनिधिहरुले बजेट पास गर्न नदिइरहेको नेता निधिले बताए । मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउन एमालेका नेता र प्रतिनिधिहरुले माग गरेको उनले जानकारी दिए ।

सक्ता गठबन्धनमा एमाले र कांग्रेस संगै भएपनि गठबन्धनको धनुषा क्षेत्र नं.३ बाट प्रतिनिधित्व गर्ने एमालेका नेताले न्यूनतम शिष्टाचार पालना नगेको नेता निधिको आरोप छ । सार्वजनिक विकासको विषयमा अवरोध गर्नु दुःखद भएको उनले बताए ।

नेता निधिले धनुषाको फुलगामामा कुनै पनि हालतमा राजर्षि जनक विश्वविद्यालयको भवन बनाएरै छोड्ने जानकारी दिए । त्यसका लागि नेपाली कांग्रेसले जे गर्नुपर्छ त्यो गर्ने प्रतिवद्धर्ता जाहेर गरे ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १ : ४० बजे