हेटौंडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल छुट्टाछुट्टै हुनु पर्ने मागसहित हेटौंडाबासीले चरणबद्ध रुपमा आन्दोलन तथा हस्ताक्षर संकलन गर्दै आएका थिए ।
हेटौंडा अस्पताल सुधारका लागि पटक पटक ध्यानाकर्षण पत्र बुझाएका अभियन्ताहरुको माग सुनुवाई नभएको भन्दै गत बुधवार हेटौंडाका अभियन्ताहरुले प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडा अस्पतालको बोर्ड राखेपछि विवाद चर्किएको थियो ।
विवाद चर्किएपछि बोर्ड परिवर्तन गर्नेलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई निर्देशन दिएको र प्रहरीले बिभिन्न राजनीतिका दलका नेतालाई समन्वय गरिरहेको बुझिएको छ ।
तर प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ति युवाहरु हिरासत भित्रै अनसन बसेका छन् ।
हिरासतमा रहेका ६ जनाले नै हेटौंडा अस्पताल मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन् । नेपाल तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरीले आन्दोलन आम मकवानपुरबासीको भएकाले हिरासतकक्षमा समेत अनसन बसेर आन्दोलन गरिरहेको जानकारी दिए ।
सर्वपक्षीय भेला गर्ने बहानामा प्रहरीले उनीहरुलाई अन्तिम समयमा नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा राखेको बताइएको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरिसकेका छन् ।
प्रतिक्रिया