Logo

मुख्य समाचार

राष्ट्रिय प्रतिभा पुरस्कार : पाँच वर्षको पुरस्कार एकैपटक प्रदान



काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् ।

नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गरे ।

पुरस्कृत हुनेमा टेलिमेडिसिनतर्फ डा.छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा.आभास मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) छन् ।

यस्तै चिकित्सा क्षेत्रतर्फ डा.ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् ।

प्रधानमन्त्री ओलीले कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको पनि जानकारी दिए । प्रधानमन्त्री ओलीले समाजमा सकारात्मक काम गर्नेलाई राज्य र समाजले सम्मान गर्नुपर्नेमा जोड दिए ।

उक्त कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । २०७६ सालमा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन । अहिले पाँच वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : ०५ बजे