काठमाडौँ । वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा अत्यन्तै महत्वपूर्ण योगदान गरेको बताएका छन्।
कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारीमा रहेको भिमेश्वर एकेडेमीको १९औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले निजी विद्यालयहरूले शैक्षिक क्षेत्रलाई सशक्त बनाउने कार्य गरेको र यस योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भिमेश्वर एकेडेमीलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा चिनाउँदै विद्यालयले भविष्यमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे।
मन्त्री भण्डारीले भने, “भिमेश्वर एकेडेमीले देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण शैक्षिक केन्द्रको रूपमा भूमिका निर्वाह गर्दै आएको छ। यहाँबाट उत्पादित जनशक्ति राष्ट्रका विभिन्न क्षेत्रमा स्थापित हुँदै गइरहेका छन्।”
साथै, उनले विद्यालयको शैक्षिक गुणस्तर र वातावरणको प्रशंसा गर्दै आफूले आफ्ना तीन जना सन्तानलाई यहीं अध्ययन गराएको अनुभव पनि साझा गरे।
शिक्षा क्षेत्रमा सुधारका लागि सरकार निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले आगामी शिक्षा विधेयक छिट्टै पारित गर्ने सरकारको योजना रहेको बताए।
कार्यक्रममा, नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षा विधेयक छिटो पारित गर्नु आवश्यक भएको कुरा व्यक्त गरे। उनले विद्यालयहरूले विद्यार्थी र अभिभावकहरूसँग मिलेर शैक्षिक वातावरण सुधार्नका लागि थप प्रयास गर्नुपर्ने जोड दिएका छन्।
विद्यालयका प्रधानाध्यापक अमृत कुमार खड्काले विद्यालयलाई थप आधुनिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै, आगामी वर्षहरूमा डिजिटल शिक्षाको प्रवर्द्धन, प्रयोगात्मक शिक्षा र विद्यार्थीहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा ध्यान दिने जानकारी दिए।
कार्यक्रमका अवसरमा विद्यालयका शिक्षक र विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए, र विद्यालयको शैक्षिक उपलब्धिहरूका लागि विभिन्न पुरस्कार र सम्मानहरू प्रदान गरिएको थियो।
समारोहमा विद्यालयलाई विशेष योगदान पुर्याउने शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ।
प्रतिक्रिया