काठमाडौं । आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन् ।
भारत र न्युजिल्यान्डको फाइनल खेल आइतबार दिउँसो नेपाली समयअनुसार २ः४५ बजे यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर २६७ रन बनाउँदै पूरा गरेको थियो ।
त्यसैगरी दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३६२ रनको विशाल योगफल बनाएको थियो। जवाफी ब्याटिङ गरेको साउथ अफ्रिका पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१२ रनमा समेटिएको थियो ।
न्युजिल्यान्ड अफ्रिकालाई ५० रनले हराउँदै फाइनल पुगेको हो । न्युजिल्यान्ड उपाधि उचाल्दै इतिहास निर्माण गर्न चाहन्छ । उसका लागि समूह चरणमा भारतसँग भोगेको पराजयको चुनौती दिनुपर्ने बाध्यतासमेत रहेको छ । यता समूह चरणमा पराजित गरेको न्युजिल्यान्डमाथि सहज जित निकाल्दै भारत उपाधि उचाल्न चाहन्छ ।
प्रतिक्रिया