जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज धनुषाको पर्वता पुग्ने भएको छ । बिहीबार कञ्चनवन पुगेर होलीमय बनेको परिक्रमावासी आज बिहानैदेखि पर्वताका लागि प्रस्थान गरेका छन् ।
धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली आठौं दिन कञ्चनवन पुगेको थियो भने आजको विश्रामस्थल पर्वता रहेको छ । महोत्तरीको यात्रा समाप्त भएर आजदेखि धनुषाको यात्रा प्रारम्भ भएको हो ।
आज रात्री विश्रामस्थल पर्वतामा बसेपछि भोली धनुषाधामका लागि निस्किने छ । त्यस्पछि सतोषर र औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।
नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।
परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
प्रतिक्रिया