रामेछाप । मन्थली नगरपालिका २ नं वडा कार्यालयले प्रविधिको प्रयोग गर्दै एकै ठाउँबाट वडाका सबै सेवा प्रदायकको निगरानी गर्न सुरु गरेको छ ।
सो वडाका सेवा प्रदायक सबै कार्यालयको वडा कार्यालयबाट नै निगरानी गर्न मिल्ने बनाइएको छ । वडाध्यक्ष सुरेन्द्र कार्कीको कार्यकक्षमा राखिएको मनिटरबाट वडाका सेवा प्रदायक कार्यालयहरूको निगरानी गर्न सकिन्छ ।
वडा सचिव राजेन्द्र श्रेष्ठका अनुसार वडाका ४ वटा विद्यालय, स्वास्थ्य चौकी, पशु सेवा कार्यालय, सार्वजनिक स्थल र वडा कार्यालयका सबै गतिविधिको सो मनिटरबाट निगरानी राख्न मिल्छ । ‘वडाका ८ वटा पोइन्टमा सिसी क्यामरा जडान गरिएको छ, वडाध्यक्षको कार्यकक्षमा बसेर सबै निगरानी राख्न मिल्छ’, श्रेष्ठले भने ।
वडाध्यक्ष सुरेन्द्र कार्कीले सो वडामा मुख्य सडकबाट विभिन्न बस्तीमा जाने नक्सा सार्वजनिक स्थलमा राख्नुका साथै सेवा प्रदायक निकाय र सुब्बा कृष्णलाल पार्क लगायत वडाका सार्वजनिक स्थलको निगरानी गर्ने संयन्त्र विकास गरिएको जानकारी दिए । ‘प्रविधिको प्रयोग गरेका छौँ, विद्यालय, स्वास्थ्य संस्था वा सार्वजनिक स्थलमा के गतिविधि भइरहेको छ भन्ने कुरा यहीँबाट हेर्न मिल्छ, यसले कोठा भित्रै बसेर दैनिक अनुगमनको काम हुने गरेको छ, सेवा प्रवाहलाई प्रभावकारी बनाउन यसले सहयोग गर्छ भन्ने विश्वास लिएका छौँ’, कार्कीले भने ।
प्रतिक्रिया