काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धी विधेयक’ प्रति माओवादी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त विधेयक संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कमजोर बनाउने गरी प्रस्ताव गरिएको माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘विधेयकमार्फत सरकार निरंकुशतातर्फ अग्रसर रहेको देखिन्छ । सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा आफु बिरुद्धका आलोचना र जनताका आवाजलाई कमजोर तुल्याउने मनसायले यो विधेयक प्रस्तुत गरिएको छ । सरोकारवाला हरूसँग कुनै राय, सल्लाह तथा छलफल नगरिकन स्वेच्छचारी ढंगले प्रस्तुत गरिएको विधेयकलाई संसद भित्र र बाहिर समेत व्यापक छलफल गरेर मात्र निष्कर्षमा पुग्नु आवश्यक छ,’ पार्टीका उपाध्यक्ष एवम प्रवक्ता अग्नि सापकोटाले विज्ञप्तिमार्फत भनेका छन् ।
बर्तमान सरकारले आफु बिरुद्धको आलोचना सहन नसकेर जुन प्रकारले नागरिकको मौलिक हकको रुपमा सुनिश्चित विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्ने मनसाय राखेको छ यसले वर्तमान सरकारको शासकीय चरित्र प्रष्ट्याएको विज्ञप्तिमा उल्लेख छ ।
जनताको आन्दोलनको बलमा स्थापित नागरिकको बिचार तथा अभिव्यक्ति स्वत्रन्तताको हक प्रतिकुल हुने गरी संसदमा पेश गरिएको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धी विधेयक’लाई सम्बन्धित पक्षसँगको छलफल पश्चात नेपालको संविधान अनुकुल हुनेगरी परिमार्जनसहित अघि बढाउनुपर्नेमा माओवादीले केन्द्रले जनाएको छ ।
प्रतिक्रिया