Logo

मुख्य समाचार

ट्रेड अफ्सको पहिचान नहुँदा उपलब्धीमा कमि : उपाध्यक्ष अधिकारी



काठमाडौं । योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६ औं राष्ट्रिय योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संकेतात्मक र विषयगत १६औं योजनाले देशको समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्रलाई पहिचान गरेको भन्दै तर योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको बताएका हुन्  ।

उनले भने,‘१६औं योजना ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आधारशिलामा तयार भएको हो । यस योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आर्थिक वृद्धिलाई प्रवद्र्धन र जनताको जीवनस्तर सुधार गर्नका लागि मार्गदर्शन प्रदान गर्दछ । राष्ट्रिय योजना आयोगले १६औं विकास योजनाको कार्यान्वयन कार्ययोजना तयार गरिरहेको छ । १६औं योजना संकेतात्मक र विषयगत योजना हो, जसले देशको समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्रलाई पहिचान गरेको छ । तर, यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक छ ।’

त्यस्तै उनले ट्रेड अफ्सको पहिचान नहुँदा बाञ्छीत उपलब्धीमा कमि भएको धारणा राखे । अब प्रत्येक कार्यक्रमहरु र पोलिसिहरुमा ट्रेड अफ्स र सिनर्जीको अनिवार्य पहिचान गर्नुपर्ने उनको भनाई छ ।

उनले भने,‘यो बीचमा समन्वयको व्यापक अभाव देखियो । कतिपय कुराहरुमा ट्रेड अफ्स हुन्छ । विरोधको आवास हुन्छ । कुनै मन्त्रालयले एउटा कुरा राखेको हुन्छ । अर्को मन्त्रालयले अर्को राखेको हुन्छ । त्यो ट्रेड अफ्स पनि पहिचान नहुँदा बाञ्छीत उपलब्धीमा कमि भएको देखियो । अब चाँही हाम्रो प्रत्येक कार्यक्रमहरुमा प्रत्येक पोलिसिहरुमा ट्रेड अफ्स र सिनर्जी चाँही पहिचान गर्नुपर्छ ।’

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ४ : ४४ बजे