Logo

समाचार

फिनफण्डले वर्ल्डलिङ्क कम्युनिकेसन्समा १ करोड युरो लगानी गर्ने



काठमाडौं – नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी कम्पनी फिनफण्डले १ करोड युरोको लगानी गरेको छ। यस लगानीको उद्देश्य वर्ल्डलिङ्कको विद्यमान फाइबर नेटवर्कको बिस्तार र नेपालभर इन्टरनेट पहुँचमा सुधार गर्नु हो।

फिनफण्डको यो लगानी डिजिटल पूर्वाधारको क्षेत्रलाई प्रगति गर्दै नेपालका ग्रामीण र दुर्गम क्षेत्रहरूमा छिटो, किफायती र भरपर्दो इन्टरनेट सेवा पुर्‍याउन मद्दत गर्नेछ। लगानीसम्बन्धी सम्झौतामा वर्ल्डलिङ्कका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले हस्ताक्षर गरे।

कार्यक्रममा, फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोले पनि सहभागिता जनाए। फिनफण्डका किल्पेलेइनले भने, “नोकियासँगको सहकार्यको माध्यमबाट वर्ल्डलिङ्कले आफ्नो इन्टरनेट सेवाहरूलाई अझ विश्वसनीय र द्रुत बनाउने लक्ष्य राखेको छ।”

वर्ल्डलिङ्कले ७३ जिल्लामा सेवा पुर्‍याउने र ९ लाखभन्दा बढी घरपरिवारलाई इन्टरनेट सेवा उपलब्ध गराउने गरेको छ। कम्पनीको फाइबर नेटवर्क बिस्तार र विश्वस्तरीय डाटा सेन्टर स्थापना गर्ने योजनाले नेपालमा डिजिटल विभाजनलाई कम गर्न र देशभर डिजिटल रूपान्तरणलाई गति दिनमा मद्दत गर्नेछ।

फिनफण्ड, जुन फिनल्याण्ड सरकारको अधिनमा रहेको एक प्रमुख विकास लगानीकर्ता हो, अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा लगानी गर्दै आएको छ। यसले सामाजिक र वातावरणीय रूपमा जिम्मेवार परियोजनाहरूमा लगानी गर्दै दिगो प्रभाव सृजना गर्ने लक्ष्य राखेको छ।

वर्ल्डलिङ्कले यसअघि पनि बीआईआई र डोल्मा इम्प्याक्ट फण्डमार्फत विदेशी लगानी भित्र्याएको थियो र यसका विभिन्न सफलताहरूले कम्पनीलाई नेपालको इन्टरनेट सेवा प्रदायक क्षेत्रमा प्रमुख स्थान दिलाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ७ : ११ बजे