Logo

Breaking News 1

गाईको पूजा र गोरु र कृषकको पूजाआजा गरी मनाइँदै


१७ कार्तिक २०८१, शनिबार  

184
Shares

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

त्यस्तै, कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

गोवर्द्धन पूजा आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा÷सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : १६ बजे