Logo

Breaking News 1

भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ (तस्बिरसहित)



भक्तपुर । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगैसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।

भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउनमा लागि परेका छन् । विनोदकुमार प्रजापति आफूले यसवर्ष १५ सयदेखि दुई हजार माटोको दियो बनाउने योजना रहेको बताए ।

उनले भने, ‘आफूले निरन्तरता दिएर लागेको १० वर्षजति भयो । यो हाम्रो पुख्र्यौली पेसा हो । हाम्रोमा सिजनअनुसार काम चल्छ । तर यो तिहारको समयमा दियोको अलिक धेरै नै माग आउँछ । तिहारमा राम्रोसँग काम गर्न सकियो भने एक हजार पाँच सयदेखि दुई हजार दियोहरु बनाएर बेच्ने योजना छ ।’

केही वर्ष अगाडिसम्म भक्तपुरमै माटो पाइने भए पनि असहले साँखुबाट महँगोमा माटो ल्याउनुपर्दा प्रजापति समुदायलाई समस्या परेको भन्दै उनले स्थानीय सरकारले माटो ल्याउन सहजीकरण गरिदिनुपर्ने बताए । पुर्खादेखि गर्दै आएको काम छाड्न नसकिएको बताउँदै प्रजापतिले माटोको भाँडाबाट घरखर्च चल्ने गरेको बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ३९ बजे